विद्युतको अवस्था सुधार

वर्षायाम शुरु हुन नपाउँदै दमौलीमा विद्युत अनियमित बन्न थालेसँगै यसको सुधारको आवश्यकता महसुस भएको छ । हावाहुरी चल्न नपाउँदै विद्युत जाने अनि अरु बेला पनि विभिन्न नाममा छिन छिनमा विद्युत जाने समस्याले बजारवासीले सास्ती भोग्नुपरेको हो । सरकारले लोडसेडिङमुक्त घोषणा गरे पनि बीनासूचना बेला बेला लाइन जाने अवस्थाले धेरैले हटाइसकेको इन्भर्टरको खोजी गर्नु पर्ने देखाएको छ । दमौलीमार्फत वितरण हुने फिडरको प्रभावक्षेत्र लामो भएका कारण यसबीचमा सानो समस्या देखिंदासमेत विद्युत अवरुद्ध हुने गरेको भनाई प्राविधिकहरुको छ । यसले गर्दा लाईनमा सुधार नहुँदासम्म नागरिकले पाएको सास्ती हट्ने छाँट देखिएको छैन । दमौली शवस्टेशनको क्षमता विस्तारको खबर सुनेका बजारवासीले अब राहत पाउने आशा गरे पनि साना साना कारण विद्युत जाने समस्याले गर्दा उनीहरुको आशा मरेको 
छ । बेला बेला गैरहने यस्तो विद्युतका कारण विद्युतीय उपकरणमा क्षति हुने र आगलागीको सम्भावना पनि रहन्छ । यसलाई रोक्नका लागि पनि प्रसारण लाइनमा सुधार हुनु जरुरी देखिएको छ  । विकसित विश्वमा भूमिगत लाइन हुने भएका कारण पनि साना साना समस्या देखिंदैन । तर हामीकहाँ खुला रुपमा तार राख्ने पद्धतीले गर्दा दुर्घटनाको जोखिम धेरै बढी छ । अनि हावाहुरी र पानी पर्ने बेला खुला लाइनकै कारण विद्युतमा अवरोध देखिने गरेको छ । दमौली विद्युत शवस्टेशनले यस समस्याको अन्त्यका लागि पहल गर्नु जरुरी छ ।