दुर्घटनाका घाइतेको उपचारका लागि तालिम

      चैत १,दमौली । तनहुँका राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटनामा घाइतेहरुको उपचारका लागि युवाहरुलाई तालिम प्रदान गरिने भएको छ । राजमार्ग क्षेत्रमा अत्यधिक दुर्घटना हुने गरे पनि आपतकालिन प्राथमिक उपचारको व्यवस्था नहुँदा बिरामीको अवस्था बिग्रने गरेको भन्दै युवाहरुलाई प्राथमिक उपचार दिने तयारी गरिएको हो ।
आगामी शनिबार एकैसाथ तनहुँको शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकामा यस्तो तालिम दिन लागिएको छ । गैरआवासीय नेपाली संघ युएई र डिस्कभरी स्पोर्ट्स युएइको सक्रियतामा तालिम दिन लागिएको संस्थाका ओम उप्रेतीले जानकारी दिए । शुक्लागण्डकी नगरपालिकाको सभाकक्षमा शनिबार हुने तालिमको स्थानीय संयोजन राष्ट्रिय युवा महासंघ नेपाल तनहुँले गरिरहेको छ । नगरपालिकाले पनि तालिममा सघाउने नगर प्रमुख किसान गुरुङले बताए ।
यसैगरी बन्दीपुर गाउँपालिकाको सहयोगमा डुम्रे सांस्कृतिक युवा परिवारको हलमा समेत तालिम सञ्चालन हुने भएको छ । तालिममा खासगरी युवालाई सहभागी गराउने र कुनै घटना दुर्घटना भएमा उनीहरुले आपतकालिन उद्धारमा भूमिका खेल्ने अपेक्षा गरिएको उप्रेतीले बताए । एनआरएन युएई र डिस्कभरीले देशका विभिन्न भागमा यस्तो तालिम सञ्चालनका लागि सहकार्य गरेका छन् । 
यसका लागि एक टोली हाल देश दौडाहामा छ ।