माछामा सुन

तनहुँमा माछापालन व्यवसाय फस्टाउँदो छ । बजारको प्रचुर सम्भावना र उचित बजार मूल्य यस जिल्लामा व्यवसाय फस्टाउने प्रमुख कारण हुन् । जिल्लाका राजमार्ग तथा आसपासका सबै क्षेत्र माछापालनका दृष्टिले उपयुक्त छन् । माछा पालेका सबैजसो क्षेत्रका किसानले आफ्नै पोखरीबाटै राम्रो मूल्य पाउनुले पनि यस व्यवसायको विस्तारमा योगदान दिइरहेको छ । जिल्लामा युवाको खासगरी यस व्यवसायमा आकर्षण देखिएको छ । नेपाल सरकार कृषि मन्त्रालयले एक रोपनीमा माछापोखरी थप्नेलाई १० हजारका दरले दिएको अनुदान अनि बजारको सुलभताले धेरै किसानलाई यस व्यवसायमा आकर्षित गराउँदै गएको छ । व्यवसाय थाल्नुअघि नै पर्याप्त तयारी गर्ने हो भने माछापालनले फाइदा दिनेमा शंका छैन । यसका लागि किसानले प्राविधिक जानकारी भएको कृषि कार्यालयको सहयोग लिन संकोच मान्नु हुन्न । कृषि कार्यालयले पनि सम्भावना भएका क्षेत्रमा थप किसान आकर्षित हुने गरी योजना तर्जुमा गर्नुपर्छ र त्यस्ता किसानलाई जिविस, नगरपालिका लगायतका निकायले पनि साथ दिनु जरुरी छ । यसो हुन सके पृथ्वी राजमार्गको मुख्य भाग तनहुँमा अझ धेरै माछापालन व्यवसायबाट फाइदा हुने सम्भावना छ ।