स्वास्थ्य बिमाको प्रभावकारीता

देशमा सरकारले गरिब जनताको स्वास्थ्य पहुँचवृद्धिका लागि स्वास्थ्यमन्त्री गगन थापाको विशेष सक्रियतामा स्वास्थ्य बिमा कार्यक्रम ल्याएको थियो । स्वास्थ्य उपचार देशमा निकै महँगो बनिरहेको सन्दर्भमा स्वास्थ्य बिमा कार्यक्रम नागरिकका लागि अचुक औषधी हो भन्दा फरक पर्दैन । निजी लगानीका अस्पतालहरु नागरिकलाई चुस्नकै लागि बसेझैं गर्ने गरेको उनीहरुको बिल तिर्न नसकेर ढाड सेकिएका जनताका भोगाइले पुष्टि गरिरहेका छन् । निजी लगानीका स्वास्थ्य संस्था आम नागरिकको पहुँचबाहिर गैरहेका बेला सामान्य उपचार समेत लिन नसक्ने अवस्थाबाट नागरिकलाई मुक्ति दिलाउन देशमा थालिएको यस सत्प्रयासको जति नै प्रशंसा गरे पनि त्यो कम नै हुन सक्ला । सामान्य न्यूनतम शुल्कमा उपचारका लागि सरकारले गरेको यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन जरुरी छ । तर त्यसका लागि कार्यक्रमको प्रभावकारीता अभिवृद्धितर्फ पनि ध्यान दिनु उति नै आवश्यक देखिएको छ । स्वास्थ्य बिमाअनुरुपको औषधी नपाएका तथा प्रभावकारी सेवा नपाएका गुनासा आम नागरिकबाट सुनिनु पक्कै सुखद् कुरा होइनन् । यसर्थ यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनु जरुरी छ । त्यसो हुन सके कतिपय विकसित मूलुकले समेत सरकारी तबरमा लागु गराउन नसकेको यो कार्यक्रम नेपालका आम नागरिकका लागि बरदान बन्नेछ ।