कृषियोग्य जमिन जोगाऔं

व्यास नगर कार्यपालिकाले कृषियोग्य जमिनको प्लटिङ रोक्नका लागि एउटा सूचना जारी गरेको छ, जसलाई सकारात्मक भन्न सकिन्छ । तर यो कति समयसम्म कायम रहने हो भन्ने यक्षप्रश्न सबैसामु छ । खासगरी नगरपालिकाले तत्कालका लागि प्लटिङ रोक्ने र पछि अर्को व्यवस्था गर्ने भनेको छ । तर पछि कस्तो व्यवस्था हुने हो । यसले थप चलखेल निम्त्याउने त हैन भन्ने प्रश्न पनि सँगै छ । व्यास नगर मात्र नभएर तनहुँका राजमार्ग क्षेत्रका खेतीयोग्य जमिनमा धमाधम जग्गा विकास गरिंदै छ । म्याग्दे र बन्दीपुर गाउँपालिकामा यो समस्या निकै बढी छ । व्यासको मात्र उदाहरण हेर्ने हो भने घाँसीकुवाका समथर फाँट खेतहरु धमाधम घडेरीमा परिणत भएका छन् । यस आसपासका अरु धेरै भागमा पनि अवस्था बदलिन थालेको छ । भावी दिनमा अन्न उब्जाउ गर्ने ठाउँ नै नरहने गरी हुन लागेका यस्ता जग्गा विकासका कामलाई रोक्न ठोस कदम चाल्नैपर्छ । अहिले रोकेर भोली यो वा त्यो नाममा खेतमा घर बनाउन दिने प्रवृत्तिलाई प्रोत्साहन गर्ने हो भने कुनै दिन मानव सभ्यताको भविष्यबारे नै प्रश्न उठाउने बेला आउन सक्छ । यसतर्फ सम्बद्ध पक्षको ध्यान जानु जरुरी छ । 
नगरका विकास नभएका क्षेत्रमा जग्गा विकास गर्न सकिन्छ । उब्जाउका दृष्टिले कमसल क्षेत्रमा पनि यसो गर्न सकिन्छ । अझ भन्ने हो भने नगरपालिकाले गाउँबाट बजार झर्ने भन्दा सबैतिर विकासको समानता लैजाँदै सेवा प्रवाहमा विविधता थप्ने हो भने पनि यसले गाउँका बासिन्दा बजारमै झर्ने अवस्थाको अन्त्य गर्न सक्दछ । गाउँमै घर बनाउँदा छुट, नक्शा पासमा छुट अनि सुविधा पनि पु¥याउन तदारुकता देखाएर गाउँका मानिस गाउँमै रमाउने वातावरण बनाउन नगरपालिकाले दीर्घकालिन योजनाको प्रभावकारी कार्यान्वयन थाल्नु जरुरी छ ।