खेत जोगाउन सबै लागौं

७२ किलोमिटर क्षेत्रफल ओगटेको पृथ्वी राजमार्गमा लहलह धानका बाला झुल्ने कुरा अब इतिहास बन्न लागेको छ । हरिया फाँटहरुमा धानका बाला खेल्दै गरेको दृश्य हेर्नेका लागि जति रोमाञ्चक थियो, मेहनत गरेर धान भित्र्याउने किसानका लागि त्योभन्दा बढी सन्तुष्टि मिल्थ्यो । तर यी कुराहरु अब विस्तारै इतिहास बन्ने क्रममा छन् । महँगो घडेरीमा परिणत गर्ने होड अनि नियमनकारी निकायको बेवास्ताका कारण तनहुँका राजमार्ग आसपासका सैयौं मुरी धान उब्जाउ हुने फाँटहरु घडेरीमा परिणत हुँदैछन् । व्यापार तथा व्यवसाय प्रयोजनका लागि ठूला फाँटहरु विनाश हुँदै गर्दा भावी दिनमा अन्न कहाँबाट आउला भन्ने प्रश्न खडा भएको छ । खेत जोगाउनका लागि लाग्नुपर्ने निकायहरु कोही पनि यो तीतो सत्य बदल्ने पक्षमा नदेखिनु दुखद् हो । नेपाल सरकारको हालैको एक परिपत्रले पनि जग्गाको खण्डीकरण रोकेको छ । तर सबैको आँखाले देखेको खुला सत्य के हो भने यो परिपत्रविपरित काम भैरहेको छ । व्यास नगरपालिकाले केही दिन अघि एक निर्णय गर्दै हालका लागि रोकिएको भनेको छ । तर अरु तहले त्यति भन्ने साहस पनि देखाएका छैनन् । खाद्यान्नका लागि झण्डै आत्मनिर्भर तनहुँमा सबै खेत घडेरीमा परिणत गर्ने होडलाई अंकुश नलगाउने हो भने भावी दिन विकराल नबन्ला भन्न सकिन्न । स्थानीय तहहरु यस्तो गम्भीर मामिलामा चुप लागेर बस्नुले अर्कै संकेत गर्दछ ।