अदालतबाट अपेक्षा

जिल्ला अदालत तनहुँले भिडियो कन्फ्रेन्सिङमार्फत मुद्दा थपका लागि थालेको सेवाले सहजता ल्याएको छ । र, आधुनिक प्रविधि आत्मसात गरेर अदालतले सरकारका अन्य अंगहरुलाई पनि प्रविधिमैत्री बन्नका लागि गतिलो सन्देश दिएको छ । न्याय सबैको पहुँचमा हुनुपर्छ । र, न्यायका लागि प्रविधिले सहजता र सुलभता प्रदान गर्दछन् भन्ने कुरा न्यायालयमा विकसित पछिल्ला प्राविधिक संरचना र पद्धतीले पुष्टि पनि गरेका छन् । अनलाईनबाट पर्चा लिने, मुद्दाको अवस्थाबारे जानकारी लिनेजस्ता सुविधाका कारण न्याय सेवा उपभोक्तामैत्री बनिरहेको पनि देखिएको छ । आगामी दिनमा थप प्रविधि विकसित गर्दै जाँदा आम नागरिकको पहुँच अनि उच्च क्षमताको न्याय सम्पादनमा कोशेढुंगा हुने अपेक्ष ागर्न सकिन्छ । अदालतले प्रविधिलाई आत्मसात ग¥यो भन्दैमा त्यो नै अचुक उपाय हो भन्न सकिन्न । अदालतको न्याय अझै पनि ढिलो हुने गरेको र न्यायसम्पादन समय र धन दुवै हिसाबले खर्चिलो बन्न पुगेको गुनासा सुनिने गरेका छन् । मानिसले जीवनभर मुद्दा लडेर फैसला नभैकन प्राणपखेरु उडेका उदाहरण पनि हामीसँग छन् । न्यायालयले प्रविधिसँगै आफ्ना पद्धतीमा पनि सुधार गरेर ढिलासुस्ती घटाउँदै आम नागरिकको विश्वास जित्न कदम चाल्नुपर्ने आवश्यकता छ ।