अधिकारको आवरणमा हुने चलखेल रोकौं

तनहुँमा हिंसापीडित महिला तथा बालबालिकाकोे सुरक्षाका लागि प्रहरीले निर्माण गरेको भवन सञ्चालनमा आएसँगैै वास्तविक पीडाका घटनामा पीडितलाई  राहत मिल्ने देखिएको छ ।  हिंसाका घटनामा पीडितलाई वरपरको वातावरणले झनैै पीडा दिने गर्दछ  । यसर्थ पीडितलाई  थप पीडा दिनबाट जोगाउनका लागि पनि उनीहरुलाई उपयुक्त वातावरण दिइनुपर्दछ । यसका लागि प्रहरी कार्यालयमा निर्मित भवनले सहजता ल्याउने विश्वास गरिएको छ । कतिपय हिंसाका घटनामा पीडितको ज्यानकै जोखिम हुन्छ भने कतिपय घटनामा उपयुुक्त संरक्षणको अभावमा पीडितले थप पीडा खेप्नु परेको हुन्छ । तर तनहुँ प्रहरी परिसरभित्र पीडितहरुको आवास तथा कानूनी उपचारका लागि निर्मित भवनले त्यो  पीडा हटाउने विश्वास गर्न सकिन्छ । तर यो एउटा शुरुवात मात्र हो । यो नै काफी भने छैन । किनभने हिंसाका कतिपय घटनामा बिचका स्वार्थ समूह पैसाको लेनदेनबाट मिलाउन बढी अग्रसर भएका विवरणहरु बेलाबखत सुनिन्छ । यसलाई कम गर्नका लागि प्रहरी कार्यालयभित्र महिला वा कुनै पनि अधिकारकर्मीको आवरणमा बढ्ने गरेका चलखेल रोक्नु जरुरी छ । यतातर्फ प्रहरी र प्रशासनको ध्यान जाओस् ।