डढेलो नियन्त्रण जरुरी

सुख्खायाम शुरु भएसंगै जिल्लाका विभिन्न भागमा डढेलो लाग्ने क्रम शुरु हुन थालेको छ । रुखबाट झरेका पातहरु सुकेकाले बल्ने सम्भावना प्रबल हुन्छ । त्यसमाथि हावाहुरी पनि चलिरहेकाले एक ठाउँमा सल्केको आगो चाँडै अन्यत्र समेत फैलने गरेकाले यो समयमा सतकर्ता नअपनाउने हो भने डढेलो लाग्ने क्रम रोक्न गाह्रो छ । समयमा रोक्न नसक्ने हो भने डढेलोबाट हुने क्षति पनि धेरै हुन्छ ।
राजमार्ग आसपासका धेरै वनहरुमा डढेलो लागेका खबरहरु आईरहेका छन् । कतिपयमा स्थानीयको सक्रियताका कारण चाँडै नियन्त्रणमा लिन सकिएको छ भने विकट क्षेत्रमा नियन्त्रणमा ढिलाई हुँदा वन तथा वन्यजन्तुको नाश भैरहेको छ । डढेलो लाग्ने र वन तथा वन्यजन्तु क्षति हुने क्रम नौलो नभएपनि यसलाई रोक्न भने नसकिने हैन । खासगरी वनका उपभोक्ता, ग्रामीण क्षेत्रका नागरिकलाई समयमै सचेत गराउने हो र आपतकालिन नियन्त्रण संयन्त्रलाई प्रभावकारी बनाउने हो भने डढेलोको नियन्त्रण सहज छ । यस्तो पूर्व सर्तकता र तयारीका लागि जिल्ला वन कार्यालय, प्रशासन कार्यालय, रेडक्रस लगायत यो क्षेत्रका सरोकारावाला निकायले ध्यान दिनु जरुरी छ । अहिलेसम्म ठूलो क्षतिको खबर नआएपनि भोली त्यस्तो दिन नआउला भन्न 
सकिन्न । त्यसकारण समयमै देखिनेगरी काम नगरेमा मानव र वन सम्पदा दुवैको नोक्सानी बेहोर्नुपर्ने अवस्था आउनसक्छ । त्यो कसैका लागि पनि प्रिय हुँदैन ।