नगरपालिकाको सकारात्मक कदम

व्यास नगरपालिकाले ज्येष्ठ नागरिकलाई पौष्टिक आहार भनेर वार्षिक सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । लोकप्रियताका लागि जस्तो देखिए पनि निर्णय एक हिसाबले सकारात्मक भन्न 
सकिन्छ । कतिपय स्थानीय तहले मासिक रुपमै भत्ता बढाउने निर्णय गरेर सस्तो लोकप्रियता कमाउने निर्णय पनि नगरेका हैनन् । केन्द्र सरकारको दायितवमा पर्ने सामाजिक सुरक्षा भत्ता नै बढाउन स्थानीय तह लाग्ने हो भने यसले सरकारका विभिन्न तहहरुबीच द्वन्द्व श्रृजना गर्ने अवस्था श्रृजना हुन्छ । व्यासले भने व्ययभार ठूलो नपर्ने तथा वृद्धवृद्धा र अपांगता भएका नागरिकहरुलाई समेत सम्मान हुने गरी गरिएको निर्णयलाई सकारात्मक नै भन्न सकिन्छ । यसका अलावा लामो समयदेखि सडक विस्तारको कामसमेत प्रभावित भैरहेको अवस्थामा नगरपालिकाले ७५ फिट क्षेत्रभित्रका जग्गा खाली गराउने निर्णय गर्नुलाई पनि सडक विस्तारको कामका लागि सकारात्मक भन्न सकिन्छ । यदि नगरपालिकाले आफैले तदारुकता लिने हो भने सडकविस्तारको काम चाँडै अघि बढ्न सक्छ जसको फाइदा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारका लागि आवश्यक पूर्वाधार तय गर्न पनि सहयोग पुग्दछ । जनप्रतिनिधिमूलक निकायको पुनस्र्थापनापछि हुने हरेक निर्णयमा नागरिकको आँखा परेको हुन्छ । यसर्थ उनीहरुले निर्णय र कार्यान्वयन गर्दा त्यस कुरालाई ख्याल गर्नु जरुरी हुन्छ ।