संस्कृति जोगाउने सक्रियता

देशको ठूलो संख्या ओगटेको हिन्दू संस्कृतिमा जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारहरुको आफ्नै महत्व रहन्छ । जन्मपछि मृत्युसम्मका संस्कार भए पछिमात्र पूर्ण हिसाबले एउटा मानिसको जीवनका कर्म सकिने विश्वास गरिन्छ । जन्मको कर्म हर्ष र उल्लासका साथ गरिने भए पनि मृत्युकर्म भने सबै ठाउँमा उति सहज हुँदैन । दमौलीको कुरा गर्ने हो भने मृत्युकर्मका लागि हिन्दू संस्कारमा विश्वास गर्ने समुदायलाई कठिन छ । नजिकै नदी हुनुपर्ने, नियमित स्नान, नियमित धार्मिक क्रियाकलाप आदिका कारण पनि हिन्दु संस्कृतिको अन्तिम संस्कारका लागि जटिलता छ । दमौलीको साँघुरो बस्ती र घरको साँघुरो बसाईका कारण परिवारका मृत्युपछिको संस्कार गर्नु सहज छैन । यसर्थ धार्मिकस्थलकै नजिकमा परिवारको अन्तिमसंस्कारलाई पूर्णता दिने क्रियाकर्मका काम गर्ने गरी क्रियापुत्री भवनको प्रक्रिया थालिएको छ । धेरैको चासो र चर्चा बनेको विषयले सुस्त रुपमा गति लिंदै जान थाले पछि यसले हिन्दुसंस्कारमा आस्था राख्नेहरुलाई राहत मिल्ने आशा पलाएको छ । हिन्दू वा सनातन संस्कृति मान्ने जोकोहीका लागि पनि यो संस्कार साझा भएकाले यसको बहुउपयोगिता देखिन्छ । सबै जातिय समुदायसमेतको सहभागीतामा चाँडै उत्कृष्ट रुपमा भवन निर्माण हुन सके यसले सबैलाई राहत 
दिनेछ ।