दमौली अस्पतालको पारदर्शिताबारे अनुसन्धान शुरु

दमौली अस्पतालको सञ्चालनको पारदर्शिताका विषयमा व्यास नगरपालिकाद्वारा गठित समितिले छानविन अघि बढाएको छ । अस्पतालको फार्मेसी सञ्चालनमा अपारदर्शिता देखिएको तथा सेवामा समेत लापरवाही भएको सार्वजनिक भए पछि व्यास नगरपालिकाले छानविनका लागि समिति गठन गरेको थियो । नगरपालिकाले व्यास ३ का वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई साता भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । समितिमा अस्पतालबाट एक प्रतिनिधि तथा व्यास नगरपालिकाको स्वास्थ्य विभागका प्रमुख हरिश्चन्द्र न्यौपाने सदस्य छन् । दमौली अस्पतालको सेवाप्रवाहमा देखिएका कमी कमजोरी तथा फार्मेसीलगायत आन्तरिक व्यवस्थापनमा देखिएका त्रुटीका बारेमा अध्ययन गरी प्रतिवेदन बुझाउन भनिएको छ । समितिका संयोजक श्रेष्ठले आफूहरुले अध्ययन शुरु गरेको बताए । समितिले अस्पतालको आयव्यय विवरण तथा लेखापरीक्षणदेखि अन्य आर्थिक क्रियाकलापका कागजातको समेत अध्ययन थालेको छ । आन्तरिक आय ठूलो परिमाणमा भए पनि अस्पतालले सार्वजनिक नगरीकन नियमितरुपमा घाटा देखाउने गरेको आरोप लाग्ने गरेको छ । हालै अस्पताल आफैले फार्मेसी सञ्चालन गरे पनि त्यसको आय व्यय विवरणबारे अस्पताल विकास समितिका पदाधिकारी नै बेखबर छन् । समितिका अध्यक्ष बसन्तबहादुर आले आम्दानी र खर्चको हिसाब नै थाहा नभएको बताउँछन् । ‘हामीले सञ्चालनका लागि पाँच लाख दिएका थियौं,’ उनले भने,‘अन्य अनुदान आएको पनि थाहा छ । तर खर्चको विवरण भने नदेखाइएकाले शंकास्पद देखियो ।’ आफूहरुले अस्पताललाई पारदर्शी र स्पष्ट देखाउने प्रयास गरे पनि कर्मचारी पक्षबाट पारदर्शितामा सहयोग नभएको उनले बताए ।