जीपी स्वासप्रस्वासको ढिलाई हटोस्

स्वासप्रश्वासको समस्याका कारण ज्यान गुमाएका पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको निधन भएपछि देशमा स्वासप्रस्वाससम्बन्धी उपचार गर्ने केन्द्रको स्थापना गर्ने अवधारणाका साथमा बेलचौतारामा केन्द्र स्थापनाको प्रक्रिया अघि बढेको थियो । काम शुरु भएको झण्डै तीन वर्ष पुगिसक्दा पनि केन्द्रको मुख्य काम शुरु भएको छैन । स्वासप्रस्वाससम्बन्धी विशेषज्ञ सेवा दिने अस्पताल मुलुकमा नभएको अवस्थामा अभाव टार्नका लागि अस्पताल खोल्ने अवधारणा आउनु पक्कै पनि सकारात्मक हो । खासगरी स्वासप्रस्वासका बिरामीको संख्या बढिरहेको र न्युन आय भएका नागरिकको संख्या बढी भएको अवस्थामा सरकारी तवरमा केन्द्र स्थापनाको पहल गरिनु सकारात्मक कदम हो । तर काम थाल्ने भनिएको लामो समयसम्म पनि आशा गरिएजति प्रगति नहुनुचाहिं दुःखको विषय बन्न पुगेको छ । सेतीगंगा सामुदायिक अस्पतालको स्वामित्व लिने तथा जग्गा अधिग्रहणबाहेकका काम दाताको टुंगो नलाग्दा शुरु हुन सकेको छैन । दुई पल्ट दुई ठूला नेताले शिलान्यास गर्दा समेत मुख्य निर्माणको काम शुरु हुन नसक्नु अनि अझैसम्म पनि दाताको टुंगो नलाग्नुले काममा तदारुकता नभएको पुष्टि गर्छ । धेरैको आशा अनि भरोसा बन्न लागेको केन्द्रको कामको गति बढाउन सम्बद्ध सबै पक्ष लाग्नै पर्दछ ।