साँच्चिकै २४ घण्टा पानी आओस्

दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बजारमा उपलब्ध पानीको क्षमता झण्डै दोब्बर पार्ने उद्देश्यका साथ थालेको कामले सार्थकता लिन लागेको छ । यसअघि नै २४ सै घण्टा पुग्ने गरी वितरण गर्ने भनिएको दमौलीको पानी यथार्थमा हुन सकेन । विहान बेलुका आउने पानीसमेत कतिपय ठाउँमा समान ढंगले नआउँदा पानी वितरण प्रणालीमा समस्या देखिएको थियो । अब बजारमा पानीको वितरण चुस्त पार्नका लागि संस्थाले मादीमा पोखरी खनेको छ, इञ्जिनियरिङ सहि छ भने त्यसले पक्कै पानी थप गर्छ । यसको सोझो असर पानीको आपूर्तिमा देखिनेछ । दमौलीजत्तिको सानो ठाउँमा पानीको व्यवस्थापन ठूलो समस्या नहुनुपर्नेमा लामो समय भैरहेको थियो । तर मादीको श्रोत थपियो भने यसले दीर्घकालसम्म फाइदा दिन 
सक्छ । संस्थाले यसअघि गरेको प्रक्षेपण फेल भएजस्तै यसपल्ट पनि विगत भने दोहोरिन हुन्न । यसका लागि सजगता अपनाउनु जरुरी छ ।