तनहुँका भरोसाबाट आशा

कुनै समय राजनीतिक हिसाबले देशमै दबदबा राख्न सफल तनहुँ जिल्ला पछिल्ला निर्वाचनयता कमजोर भूमिकामा पुगेको टिप्पणी यदाकदा सुनिन थालेको थियो । लामो समय सत्तामा रहँदा नेपाली कांग्रेसका नेताहरुले महत्वपूर्ण मन्त्रालय लिएर सत्ताको वागडोर सम्हालेका थिए । एमाले तथा माओवादी केन्द्रकै नेताहरु पनि मन्त्रीको भूमिकामा रहेको जिल्लामा यसपल्टको सरकार गठनले केन्द्रीय सरकारमा उपस्थिती कमजोर गराएको हो कि भन्ने आभास जनस्तरमा हुन थालेको छ । शिक्षा, विकास र राजनीतिक चेतसमेतका हिसाबले अगाडि रहेको तनहुँको केन्द्रीय सरकारमा नभए पनि सरकारका अंगहरुमा भने वर्चस्व देखिएको छ ।
 खासगरी दुईवटा सुरक्षा निकाय तथा संवैधानिक न्यायपालिकाको प्रमुखमा तनहुँको भूमिमा जन्मिएका उच्च व्यक्ति आसिन हुनुले जिल्लाका लागि आश बढाएको छ । जिल्लावासीले सर्वोच्च पदमा पुगेका जिल्लाका व्यक्तित्वबाट विकास निर्माण तथा आ आफ्ना क्षेत्रमा सहयोगको अपेक्षा गरेका छन् । प्रधानसेनापती राजेन्द्र क्षेत्रीले आफू नेपाली सेनाको प्रमुख रहँदाका बखत जिल्लामा भर्ती केन्द्र थप तथा जिल्लाको जनशक्ति बढी सेनामा भर्ती लिएको उदाहरण छ । प्रहरी प्रमुख सर्वेन्द्र खनाल तथा कामु प्रधानन्यायाधिश दीपकराज जोशीबाट पनि उनीहरुको सेवाका क्षेत्रबाट जिल्लाले पाउनसक्नेसम्मको सहुलियतको अपेक्षा गरेको छ ।