तनहु“मा भर्ना अभियान

   दमौलीे । तनहुँमा भर्ना अभियानलाई नयाँ वर्षको शुरुबाटै प्राथमिकताका साथ अघि बढाइने भएको छ । यसका लागि जिल्ला शिक्षा विकास तथा समन्वय एकाई तनहुँले तयारी गरेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय अधिकारी रुद्रहरि भण्डारीले कोही पनि विद्यार्थी विद्यालयबाट बाहिर नहुन् भनेर अभियान थालिन लागेको बताए । उनले तनहुँमा विद्यालय भर्नादर राम्रो रहेको भन्दै अझै पनि छुटेका बालबालिकालाई विद्यालयमा पठाउने वातावरण तयार पार्न लागिने बताए ।नेपालको शिक्षा सूचकांक एसियामै उच्च रहेको भन्दै उनले तनहुँमा ३ प्रतिशतजति बालबालिका भर्ना नहुने गरेको बताए । तनहुँमा ६ प्रतिशत विद्यार्थी भर्ना भएर पछि बीचमा विद्यालय छाड्ने गरेका 
छन् । भर्ना गरेर पनि विद्यालय छाड्ने बालबालिकालक्षित गरेर कार्यालयले खाजाको व्यवस्था गरेको उनले 
बताए । कार्यालयले वैशाख ३० गतेसम्म विद्यालयहरु बालबालिकालाई भर्ना गराउनका लागि घरदैलोमा लाग्ने उनले बताए । विगतमाजस्तो यसपल्ट पाठ्यपुस्तकको अभाव हुन नदिने उनले बताए । भर्ना हुनासाथ बालबालिकाले पुरै पाठ्यपुस्तक पाउनुपर्ने भन्दै जिशिअ भण्डारीले यसका लागि आवश्यक व्यवस्था मिलाइएको बताए । सहायक जिल्ला शिक्षा अधिकारी सूर्यप्रसाद रानाभाट क्षेत्रीले तनहुँका अल्पसंख्यक चेपाङ, माझी तथा बोटे समुदायका विद्यार्थी अध्ययन गर्ने ३८ विद्यालयमा खाजा कार्यक्रम थालिएको बताए । यसैगरी सीमान्तकृत समुदायका ५ सय १० विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको उनले जानकारी दिए । विद्यालय निरीक्षक भरत बरालले वैशाखभर भर्ना अभियानका लागि सञ्चारमाध्यमको सहयोगको अपेक्षा गरे । भर्ना अभियानका क्रममा जिल्ला शिक्षा अधिकारी तथा उच्च तहका अधिकारीहरुले विद्यालय नगएका बालबालिकाको आफै भर्ना तथा पोशाकलगायतका सामग्री प्रदान गर्ने कार्यक्रम छ ।