दमौली सनातन धर्मावलम्बीको मूल थलो

  दमौलीे । महर्षि वेदव्यासले महाभारत, चार वेद र अठार पुराणको श्रृजना गरेको भूमि दमौलीलाई विश्वभरका वैदिक धर्म अनुयायीहरुको केन्द्रभूमि घोषणा गरिएको छ । भारतको जोशीपीठकी पीठाधिश पहिलो नेपाली पहिला शंकराचार्य हेमानन्द गिरीले वेदव्यासले ग्रन्थ श्रृजना गरेको र पराशर ऋषिले तपस्या गरेको थलो दमौली भएको घोषणा गरिन् । भारतका विभिन्न मठका मठाधिशहरुसमेतको उपस्थितीमा उनले यस ठाउँलाई विश्वमाझ चिनाउनका लागि आफूहरुले सक्दो पहल गर्ने भन्दै भनिन्,‘तपाइंहरुले पनि यस ठाउँलाई चिनाउन कम्मर कस्नुपर्ने बेला आएको छ ।’
उनले व्यासकै ग्रन्थहरुका कारण हिन्दु धर्म र पूर्वीय संस्कृतिले फैलने अवसर पाएको बताइन् । कार्यक्रममा गिरीले हिन्दु धर्मको उद्गम भूमि भए पनि पछिल्लो समय गाईको हत्या हुन लागेकोप्रति संकेत गर्दै त्यसलाई रोकिनुपर्ने बताइन् । ‘गौमाताको रक्षा हुनु जरुरी छ,’ उनले भनिन्,‘विश्वमै हिन्दूको उत्पत्ति भएको थलोमा गाईको रक्षा हुनुपर्छ ।’ उनले हिन्दु शास्त्रले जाति तथा वर्गका आधारमा विभेद नगरेको जिकिर 
गरिन् । ‘हिन्दु शास्त्रले दलितहरुलाई विभेद गर्ने कुरालाई समर्थन गर्दैन,’ उनले भनिन,‘शास्त्रलाई दोष दिएर धर्म परिवर्तन गराउने कार्य 
रोकिनुपर्छ ।’
व्यासभूमिलाई विश्वमाझ चिनाउन भन्दै अठार महिनासम्म सञ्चालित अखण्डकीर्तनको समेत उनले समापन गरिन् । यसअघि ठूलो संख्यामा विभिन्न जिल्लाबाट आएका श्रद्धालुले भजनकीर्तनसहित दमौली बजारको परिक्रमा गरेका थिए । 
कार्यक्रममा बोल्दै भारतको अश्वमेध पीठका पीठाधिश स्वामी डा. उपेन्द्र पाराशरले नेपालमा भैरहेको धर्म परिवर्तनको काम रोकिनुपर्ने बताए । उनले व्यासभूमिमा धर्म संसद आह्वान गर्दै यस ठाउँलाई वैदिक सनातन धर्मावलम्बीको मूलथलो घोषणा गर्न सकिने बताए । 
कार्यक्रममा राष्टिूय सभा सदस्य प्रकाश पन्थ, प्रदेश सभा सदस्यहरु डोबाटे विक र सरिता गुरुङले व्यासभुमिको प्रचार र विकासमा आफूहरुको सहयोग रहने बताए । अठार महिने संकीर्तन कार्यक्रमको आयोजक वेद अनुयायी प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले व्यासभूमिबारे विश्वले थाहा पाउन नसकेकाले चिनाउनका लागि हालसम्मकै ठूलो यज्ञ गरिएको 
बताए ।  
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले तथा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले व्यासभूमिको विकास र प्रचारमा सहयोग गर्ने बताए । 
कार्यक्रमको अवसरमा एक सय आठ सन्तलाई सम्मान तथा अखण्डकीर्तन सञ्चालनमा सघाउ पु¥याउने मूल संरक्षक दामोदर बाबासहितका व्यक्तिहरुलाई सम्मान गरिएको 
थियो ।
अब यस क्षेत्रमा नियमित धार्मिक गतिविधि अघि बढाइने अखण्डकीर्तनका मुल संरक्षक दामोदर बाबाले बताए । योगी नरहरिनाथले पहिलो पटक व्यासका २८ औं अवतार दमौलीमा भएको घोषणा गरेका थिए । स्कन्दपुराणको हिमवतखण्डमा उल्लिखित तथ्यले पनि दमौली व्यास र पराशर ऋषिको तपोभूमि रहेको पुष्टि गर्ने विद्वानहरुको कथन छ ।