तनहुँमा समृद्धि

तनहुँ आर्थिक विकासका दृष्टिले सम्भावनायुक्त क्षेत्रका रुपमा चिनिने गरेको छ । जिल्लालाई बीचबाट चिरेर गएको ७२ किलोमिटर लामो पृथ्वी राजमार्ग अनि आसपासका समथर भूभागहरु तनहुँका लागि प्रचुर सम्पत्ति हुन् । कृषिको उर्वर भूमि तनहुँमा जलसम्पदा पनि प्रशस्त छ । तनहुँका राजमार्ग छेउमै रहेका फाँटका अलावा जिल्लाका विभिन्न भागका फाँटहरु कृषिका हिसाबले उपयोगी मानिन्छन् । धान, अदुवा, सुन्तला तथा हरियो तरकारी तनहुँले निर्यात गर्नसक्ने प्रमुख कृषि उपज हुन् । सहज पहुँच, पानी  तथा विद्युतसमेतको उपलब्धता यस जिल्लामा औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार हुन् । यी ठाउँमा स्थापित केही उद्योगधन्दाले राम्रोसँग गति लिएका उदाहरण हामीसँग प्रशस्तै छन् । यसर्थ पनि तनहुँमा अझ बढी उद्योगधन्दा विकास हुन सक्ने सम्भावना देखाएको छ । निर्माण हुने क्रममा रहेको तनहुँ जलविद्युत र तल्लो सेती जलविद्युत आयोजनाले पनि जिल्लामा विकासका बाटा खुलाउन सक्छन् । लगानीका सम्भावना बढाउन सक्छन् । यी सबै सम्भावनालाई दृष्टिगत गरी पूर्वाधार विकास र लगानी वृद्धितर्फ स्थानीय तथा प्रदेश सरकारले ध्यान दिन सक्ने हो भने तनहुँले धेरै हिसाबले प्रगति गर्न सक्दछ । यसतर्फ सम्बद्ध सबैको समयमै ध्यान जाओस् ।