नया“ वर्षमा बन्दीपुरमा खचाखच पर्यटक

 नेपाली नयाँ वर्षमा तनहुँको पर्यटकीय बन्दीपुर बजारमा झण्डै १० हजार पर्यटक भित्रिएका छन् । नेपाली नयाँ वर्षमा स्वदेशी पर्यटकको भीड लाग्ने गरेकामा यस पटकको नयाँ वर्षमा हालसम्मकै ठूलो संख्यामा दर्शक भित्रिएको अनुमान गरिएको छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैस गुरुङले पर्यटकको उपस्थिती अकल्पनीय भएको टिप्पणी गरे । नेपाली नयाँ वर्षमा सांगितिक तथा सांस्कृतिक कार्यक्रम गर्दै बढी पर्यटक भित्र्याउनका लागि तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति तथा क्षेत्रीय होटल संघले बन्दीपुर गाउँपालिकाको सहयोगमा मुख्य बजारमै सांस्कृतिक कार्यक्रम गरेका थिए । 
कार्यक्रमको प्रचार प्रसारका कारण पनि पर्यटकको ठूलो संख्या बन्दीपुर भित्रिएको गुरुङले अनुमान गरे । दुई दिन मध्यरातसम्म चलेको कार्यक्रमका क्रममा सहभागी हुन आउने दर्शकको भीडले सवारी राख्ने ठाउँ नभएर सडकमै डेढ किलोमिटरसम्म सवारी पार्किङ गरिएको थियो । 
कतिपय पर्यटक कार्यक्रम हेरेर फर्किए पनि बास बस्नेको संख्यासमेत उल्लेख्य रहेको स्थानीय व्यवसायीको अनुमान छ । नेवा गेष्ट हाउसका सञ्चालकसमेत रहेका क्षेत्रीय होटल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधान सबैजसो होटल पहिल्यैदेखि बुक भएको बताउँछन् । ‘चैत्र ३० गतेदेखि नै होटल पुरै बुकिङ थिए,’ उनले भने । 
होटलबाहेक होम स्टे तथा पेइङ गेष्टसमेत गरी झण्डै साढे दुई हजार पर्यटकले रात बिताएको उनले अनुमान गरे । यो हालसम्मकै बढी संख्या हो । ‘यति धेरै पर्यटक बन्दीपुरमा आउलान् भन्ने हामीले सोच्नै सकेका थिएनौं,’ उनले भने,‘यसले हामीलाई हौस्याएको 
छ ।’विदेशी पर्यटकको प्रमुख आकर्षक गन्तव्य बन्दै आइरहेको बन्दीपुरमा नेपाली पर्यटक पनि उल्लेख्य संख्यामा आउने गरेका छन् । प्राचीन भक्तपुरे शैलीका घर यहाँका विशेषता हुन् । मुख्य बजारका होटलहरु पुरानै भवनमा छन् । यसबाहेक बजारका आसपासमा आधुनिक घरमा समेत होटल छन् । यसका अलावा बजारका विभिन्न भागमा स्थानीय समुदायले बन्दीपुर सामुदायिक होम स्टेसमेत सञ्चालनमा ल्याएका छन् । यसले गर्दा बन्दीपुरमा पर्यटक राख्ने क्षमता बढ्दै गैरहेको छ । बन्दीपुरलाई सांस्कृतिक पर्यटनको केन्द्र बनाउनका लागि कार्यक्रममा उपस्थित पर्यटकको ठूलो उपस्थितीले समर्थन गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।