प्रदेश ४ को नीति तथा कार्यक्रमः समृद्धिका चार आधार

      पोखरा ।  प्रदेश नम्बर ४ को सरकारले आफ्नो नीति तथा कार्यक्रम सोमबार ल्याएको 
छ । सरकार बनेको दुई महिनापछि आगामी असारसम्मका लागि नीति तथा कार्यक्रम संसदमा पेश भएको हो । दिउँसो बसेको संसद बैठकमा ९५ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । 
प्रदेश प्रमुख बाबुराम कुँवरले संसदमा पेश गरेको नीति तथा कार्यक्रमले प्रदेश ४ को विकास र समृद्धिमा जोड दिएको छ । प्रदेश ४ को समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई नीति तथा कार्यक्रमले मुख्य आधार मानेको 
छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको थियो । 
प्राथमिकताका चार आधारसँगै खनिज, लोकसंस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य र खानेपानीसहितका विषयलाई पनि नीति तथा कार्यक्रममार्फत प्राथमिकता दिइएको छ । प्रदेश सरकारले जनतालाई सकारात्मक सन्देश दिन पनि नीति तथा कार्यक्रम ल्याएको हो ।
केन्द्रले दिएको एक अर्ब दुई करोड बजेटमा आधारित भएर नीति तथा कार्यक्रम ल्याइएको हो । नीति तथा कार्यक्रममा प्रदेश ४ मा ऊर्जाको प्रचुर सम्भावनालाई सदुपयोग गर्दै समृद्ध प्रदेशको कुरा समेटिएको छ । 
त्यसैगरी कृषिलाई उत्पादनमुलक र व्यावसायीकरण गर्दै उद्योगमार्फत रोजगारी बढाएर प्रदेशलाई अघि बढाउने नीति प्रदेश सरकारले लिएको छ । 
यसअघि चार नम्बर प्रदेश मन्त्रिपरिषदको पहिलो बैठकले ५ वर्षमा सुविधासम्पन्न अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र निर्माण, उज्यालो प्रदेशअन्तर्गत २ वर्ष्भित्र हरेक गाउँबस्तीमा बिजुली, ५ वर्ष्भित्र सुविधासम्पन्न क्यान्सर, मुटु र मिर्गौला उपचार केन्द्र स्थापना, ५ वर्षमा स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानीसँग सुविधायुक्त सडकले जोड्ने योजना बनाएको 
थियो ।