भुजेल बालकका अभिभावक सांसद श्रेष्ठ

     दमौलीे । व्यास नगरपालिका १२ भुजेलवस्तीका पाँच वर्षका बादल भुजेल विद्यालय भर्ना भएका छन् । उनका बुबा शेरबहादुर भुजेल र आमा फुलमाया गोले भुजेल दुवै सँगै छन् । तर उनको अभिभावक भने तनहुँ क्षेत्र नम्बर १ का सांसद किसान श्रेष्ठ बनेका छन् ।
श्रेष्ठले विद्यालय भर्ना अभियानका क्रममा भुजेलगाउँबाट बादललाई व्यास १२ स्थित मत्स्यकन्या माविसम्म भर्ना गर्न ल्याएका थिए । विद्यालयका प्रधानाध्यापक ललित पाण्डेले विद्यार्थीको अभिभावकमा सांसद श्रेष्ठको नाम कायम गरेका छन् ।
शेरबहादुर र फुलमाया दुवै निर्माण मजदुर हुन् । दुवै निर्माण कार्यमा संलग्न तथा आर्थिक अवस्था कमजोर भएकाले विद्यालय भर्ना अभियानका क्रममा एक विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने सोचेका श्रेष्ठले उनीहरुको सन्तान बादलको अभिभावकत्व ग्रहण गरेका हुन् । ‘अब म उसले चाहे जति पढ्ने व्यवस्था गर्छु,’ उनले भने,‘आजबाट मेरो परिवारमा एउटा सदस्य थपिएको छ ।
’सांसद श्रेष्ठले भुजेलगाउँका बालबालिका अब आफ्नो प्राथमिकतामा पर्ने भन्दै उनीहरुको नियमति शिक्षाका लागि पहल गर्ने बताए । ‘उनीहरुको उचित शिक्षाका लागि मेरो हरसम्भव पहल रहनेछ,’ उनले भने । उनले विद्यालयमा नयाँ भर्ना हुने सबैलाई पोशाक दिने पनि घोषणा गरेका छन् । 
विद्यालयका प्रधानाध्यापक पाण्डेले सांसदलाई नै अभिभावकका रुपमा पाउँदा खुशी लागेको बताए । ‘अब विद्यालयका लागि नियमित साथ र सहयोग हुने आशा लागेको छ,’ उनले भने । स्थानीय शिक्षक एवं सामाजिक कार्यकर्ता पृथ्वी भुजेलले भुजेलगाउँका अभिभावक आर्थिक हिसाबले कमजोर भएको बताए । ‘आर्थिक अवस्थाकै कारण कतिपयले विद्यालय छाड्ने गरेका छन्,’ उनले भने,‘यस्ता सहायताले उनीहरुलाई सहयोग मिल्नेछ ।’