व्यास प्रचारको शुरुवात

चार वेद, महाभारत र अठार पुराणका रचयिता महर्षि वेदव्यासको तपोभूमि दमौलीको प्रचार प्रसारका लागि सञ्चालित अखण्डकीर्तन सनातन धर्म अनुयायीहरुको मूल थलो घोषणा गर्दै सम्पन्न भएको छ । महर्षि वेदव्यासले तपस्या गरेर समस्त हिन्दु तथा पूर्वीय संस्कृतिमा विश्वास गर्नेहरुका लागि महत्वपूर्ण ग्रन्थ श्रृजना गरेको ठाउँलाई सनातन धर्ममा विश्वास गर्नेहरुको मूल थलो घोषणा गर्ने जुन उद्देश्य राखिएको थियो, त्यो केही हदसम्म पुरा भएको छ । यस पवित्र भूमिको प्रचार पनि केही हदसम्म भएकै छ । तर कठिन एउटा यज्ञ सकिएसँगै सबै काम सकिएका भने छैनन् । बरु एउटा शुरुवात भएको 
छ । व्यासभूमिमा निरन्तर ठूला धार्मिक यज्ञहरु आवश्यक छन् । जति धेरै धार्मिक चहलपहल बढ्छ, उति नै कुनै पनि ठाउँको धार्मिक विकासले गति लिन सक्छ । धार्मिक गतिविधि बढ्दा धार्मिक व्यक्तित्व अनि श्रद्धालुको चहलपहल बढे मात्र कुनै पनि ठाउँले प्रचार पाउन सक्छ । व्यासभूमिमा विगतमा त्यही अभाव थियो । तर ठूलो महायज्ञका रुपमा हरिनाम संकीर्तन, त्यसबीचमा भएको ठूलो उपस्थिती आदिले यस ठाउँलाई गति दिने कुरामा कोशेढुंगामा बल दिएका छन् । अब यी र यस्तै ठूला यज्ञादि गरेर पावन व्यासभूमिलाई धार्मिक थलोका रुपमा विकास गर्नु अति नै आवश्यक छ । यो  समापन नभै शुरुवात हो भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।