ट्राफिक व्यवस्थापनमा सराहनीय कदम

कार्यालय समय र व्यवस्त समयमा अस्तव्यस्तप्रायः रहने दमौलीको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित पार्नका लागि व्यास नगरपालिकाको अग्रसरतामा चालिएको कदम प्रशंसनीय छ । खासगरी विहान र दिउँसो कार्यालय शुरु हुने र बन्द हुने समयमा अत्यधिक सवारी चापका कारण दमौली मुख्य ट्राफिक चोकस्थित पृथ्वी राजमार्गमा जाम हुने समस्या लगातार देखिएको छ । राजमार्गमै जाम हुन थाले पछि यो विषय व्यास नगरपालिका मात्र नभै सबैको चासोमा पुगेको छ । दमौली बजारको सुव्यवस्थाका लागि समेत ट्राफिक व्यवस्थापन अति जरुरी थियो । अहिले कार्यालय समय शुरु हुने र बन्द हुने समयमा ट्रकसहितका मालवाहक सवारीलाई बजारमा प्रवेश गर्न नदिने गरी गरिएको निर्णयले पक्कै केही सुधारका संकेत दिने अपेक्षा गरिएको छ । सँगै सवारी चाप र साँघुरो सडकका कारण आवतजावतमा भएको समस्यालाई ध्यानमा राखेर डांग्रेखोल्सी र कालिका मार्गलाई एकतर्फी बनाइनु पनि अर्को सकारात्मक कदम हो । यस नियमलाई प्रभावकारी कार्यान्वयनका अलावा अरु सम्भाव्य विकल्पका बारेमा पनि समयमै ध्यान दिएर नगरपालिकाले ट्राफिकको सहयोगमा कदम चाल्ने हो भने तुलनात्मक रुपमा सानो र व्यवस्थित दमौली बजारको व्यवस्थापन अझ राम्रो गर्न सकिन्छ ।