वडा अध्यक्ष श्रेष्ठले लिए अभिभावकत्व

        दमौली ।  विद्यालय भर्ना अभियानका क्रममा एक गरिब वा विपन्न वर्गका बालबालिकाको अभिभावक बन्ने तनहुँमा लहर नै चलेको छ ।
प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ भुजेलगाउँका बादल भुजेलको अभिभावक बनेकै दिन जिल्ला शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख रुद्रहरि भण्डारीले सेवरकी विपन्न वर्गकी दीपीका भुजेलको अभिभावक बनेर भर्ना गरिदिएका थिए ।
यो क्रममा व्यास नगरपालिकाका जनप्रतिनिधि पनि थपिएका छन् । व्यास ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले एक बालकको अभिभावकका रुपमा विद्यालय भर्ना गरिदिएका छन् ।
 
 
 
 
उनले आफ्नै वडाको लुतेबराहका ७ वर्षका विष्णु दरैलाई उदय माध्यमिक विद्यालयमा भर्ना गराएका हुन् । उनले सरकारको नीतिअनुसार आफूले विपन्न वर्गका बालकको अभिभावकत्व ग्रहण गरेको बताए ।
जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा परिणत भएको तत्कालीन जिल्ला शिक्षा कार्यालयले जिल्लाभरका जनप्रतिनिधि तथा सरोकारवालालाई भर्ना अभियान प्रभावकारी बनाउन अभिभावकत्व लिइ दिन अनुरोध गरेको थियो । देशैभरका जनप्रतिनिधिहरुले यस अभियानलाई प्राथमिकता दिएका छन् । यसले भर्ना अभियानमा बेग्लै माहोल तयार पारेको छ ।
तनहुँमा करिब ९७ प्रतिशत बालबालिका विद्यालयमा भर्ना हुने गरेका छन् । तर पनि भर्ना दरलाई अझ प्रभावकारी बनाउन हरेक स्थानीय तहमार्फत प्रयास थालिएको शिक्षाका अधिकारीहरुले बताएका छन् ।