पिबिए समूहको सहयोग

     भिमाद । पिबिए समूहले भिमादका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामग्री र विद्यालय पोशाक वितरण 
गरेको छ ।
पूर्व सांसद एवं समाजसेवी स्वर्गीय पदम बहादुर आलेको सम्झनामा उनको नातिनातिनाहरुले एक विद्यालयका विद्यार्थीहरुलाई बुधबार शैक्षिक तथा खेलकुदका सामग्री साथै विद्यालय पोशाक वितरण गरेको छ । पिबिए समूहले स्थापना गरेको अक्षयकोषबाट व्याज रकमबाट भिमाद नगरपालिका ४ रजिडाँडा स्थित बालकल्याण आधारभूत विद्यालयका ८० विद्यार्थीहरुलाई शैक्षिक सामग्री, खेलकुदका सामग्रीका साथै विद्यालय पोशाक वितरण गरिएको समूहका सचिव गौरवराज रानाले जानकारी दिए ।
कार्यक्रममा संस्थाकी संरक्षक एवं म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना प्रमुख अतिथि रहेकी थिइन् । शैक्षिक सामग्री वितरण गर्दै रानाले अग्रज तथाअभिभावकहरुको सम्मान र सम्झनालाई ताज राख्दै बालबालिकाको शैक्षिक विकासलाई प्रोत्साहन गर्न सामग्री वितरण गरिएको बताइन् । उनले सहयोगी भावनाले बालबालिकाको शैक्षिक स्तर बृद्धि गर्दै उनीहरुको भविष्य राम्रो बन्ने बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्डन सिंह आलेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँकी सदस्य तथा भिमाद ४ की वडा सदस्य शनिमाया थापा, वरिष्ठ समाजसेवी रामकृष्ण राना, विद्यालयका सल्लाहकारहरु क्या.मनबहादुर राना, थमनसिंह थापा, भिमाद नगरपालिकाको कार्यपालिका सदस्य नरबहादुर सुनार, पिविए समूहका अध्यक्ष मनोज आले लगायतले बोलेका थिए । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक केदारनाथ सिग्देलले 
गरेका थिए ।