विप्लवको सुरक्षा चुनौती

   दमौली । पोखरामा प्रदेश ४ का जिल्ला सुरक्षा प्रमुखहरुले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई सुरक्षा चुनौतीको रुपमा विश्लेषण गरेका छन् । 
आईतबार पोखरामा बसेको सुरक्षा गोष्ठीका सहभागीले पार्टीका गतिविधि सुरक्षा व्यवस्थापनमा चुनौती बनेको 
बताए । गोष्ठीको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेका थिए । गोष्ठीमा आउने क्रममा पोखरा विमानस्थलनजिकै १ नम्बर गेटअगाडि शंकास्पद वस्तुसमेत भेटिएको थियो । सेनाको टोलीले त्यसलाई भने निष्क्रियर पारेको
 थियो । प्रदेश ४ का ११ जिल्लाका सुरक्षा प्रमुखहरुले विप्लव नेतृत्वको माओवादी नै जिल्लामा सुरक्षा चुनौती बनेको भन्दै यसको समाधानका लागि चालिने कदमका बारेमा गोष्ठीमा छलफल गरेका थिए ।
गोष्ठीमा देश संघीयतामा गएसँगै केन्द्र, प्रदेश र स्थानीय तहको सुरक्षामा कसरी एकरुपता ल्याउने, सिण्डिकेट अन्त्य पछिको व्यवस्थापन कसरी गर्ने, मौसमी सुरक्षा व्यवस्था र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ ।
विभिन्न तहका धम्की गुण्डागर्दी, लागुऔषधलाई कसरी नियन्त्रणमा लिने ,राजनीतिक आवरणमा गरिने क्रियाकलापलाई कसरी निष्क्रीय पार्ने लगायतका विषयमा समेत गोष्ठीमा छलफल भएको सुरक्षा अधिकारीहरुले बताएका छन । कार्यक्रममा सुरक्षा गृह सचिव प्रेम कुमार राई, प्रदेश ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, प्रहरी महानिर्देशक सर्बेन्द्र खनाल, सशस्त्र प्रहरी महानिर्देशक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान बिभागका दिलिपराज रेग्मी, प्रदेश ४ का प्रदेश मुख्य सचिव लक्ष्मण अर्याल लगायतको सहभागीता थियो ।