विष्फोटक सेनाद्वारा निष्क्रिय

       दमौली ।बन्दका क्रममा दमौलीस्थित मादी पुलमा राखिएको विष्फोटक पदार्थलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । भारतीय प्रम नरेन्द्र मोदीको भ्रमणमा भएको सम्झौताको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका क्रममा आइतबार विहान  साढे ५ बजेतिर पृथ्वी राजमार्गस्थित मादी पुलमा रातो झोलामा शंकास्पद पदार्थ देखिएपछि तनहुँ प्रहरीले एकतर्फी यातायात सञ्चालन गरेको थियो । विहान करिब नौ बजेतिर सेनाको आँबुखैरेनीस्थित कालीभञ्जन गणको बम डिष्पोजल टोलीले पुलबाट बैरेनी जाने बाटोतर्फ लगेर झोलालाई डिष्पोज गरेका थियो ।
झोलामा केही परिमाणमा बिष्फोटक पदार्थ डेटोनेटर भेटिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । विहानैदेखि चलेका सवारी साधन एकतर्फी भएकामा नौ बजे सुरक्षित स्थलमा लगेर बिष्फोटक निष्क्रिय पारिएपछि दोहोरो रुपमै सवारी साधन चलेका थिए । बन्दका क्रममा चलेका सवारी साधनलाई त्रास फैलाउन पुलमै बिष्फोटकसहितको झोला राखिएको हुनसक्ने अनुमान गरिएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले कसैलाई पक्रेको छैन ।
यात्रुबसमा ढुंगा
बन्दका क्रममा सञ्चालन गरिएको एक यात्रुवाहक बसमा ढुंगा प्रहार भएको छ । लमजुङबाट विवाहका जन्तीसहित चितवन जाँदै गरेको ग १ झ ७१४९ नम्बरको जन्ती बसमाथि भानु ३ चाम्बासमा ढुंगा प्रहार भएको थियो ।
 प्रहरीका अनुसार जंगलबाट प्रहार भएको घटनामा संलग्नको पहिचान हुन सकेको 
छैन । अगाडिको भागको सिसा फुटे पनि बस जन्ती बोकेर गन्तव्यतर्फ गएको र कोही घाइते नभएको प्रहरीले जनाएको छ ।