विद्यालय पोशाकमै आत्महत्या

   दमौली ।व्यास ५ पाटन निवासी एक किशोरीले विद्यालय पोशाकमै आत्महत्या गरेकी छन् । सत्यवती मावि कक्षा ९ मा अध्ययनरत १७ वर्षकी छात्रा देवी आले मंगलबार दिउँसो आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक बाबुराम पोख्रेलले बताए ।
घरबाट विद्यालय पोशाकमा निस्किएकी आले दिउँसो खाजा खाने समयमा घर फर्किएकी थिइन् । घरमा कोही नभएको अवस्थामा सलको पासो लगाएर आत्महत्या गरेको देखिएको पोख्रेलले बताए । उनको आत्महत्याको कारण नखुले पनि प्रेमसम्बन्धलाई कारण ठानिएको छ ।
सामाजिक सञ्जालमा उनले एक स्ट्याटस समेत घटनाअघि लेखेको पाइएको छ । विद्यालयले भने आले चार दिनयता विद्यालयमा अनुपस्थित भएको जनाएको छ । हाजिरी रेकर्डमा आले अनुपस्थित भेटिएको प्रधानाध्यापक इन्दप्रसाद पौडेलले बताए । मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।