दमौलीमा गुरुङ चलचित्र महोत्सव

   दमौली । दमौलीमा दुई दिने गुरुङ चलचित्र महोत्सव हुने भएको छ । गुरुङ फिल्म एसोसिएसनले गुरुङ भाषाका केही उत्कृष्ट चलचित्रहरुलाई प्रदर्शन गर्ने तयारी गरेको छ । 
गुरुङको ठूलो संख्या रहेको जिल्लामा गुरुङ संस्कृतिमा आधारित चलचित्रको प्रदर्शन गर्न लागिएको एसोसिएसनका केन्द्रीय अध्यक्ष गिरिप्रसाद गुरुङले जानकारी दिए । एसोसिएसनले माघ ४ र ५ गते दमौलीको उद्योग वाणिज्य संघ हलमा चारवटा छानिएका चलचित्र प्रदर्शन गर्ने जनाएको छ । कर्मक्यौं, मैंरिमो, समीङही र ङै मायाँ क्योंलाई नामका चार चलचित्र प्रदर्शनका लागि छानिएको एसोसिएसनका जिल्ला अध्यक्ष भेषबहादुर गुरुङले बताए । केन्द्रीय अध्यक्ष गिरिप्रसादले गुरुङ चलचित्रको प्रचारप्रसारका लागि पनि महोत्सवले भूमिका खेल्ने उनले 
बताए । उनले यसअघि बेसिसहरमा समेत महोत्सव गरिएको भन्दै तनहुँमा पनि राम्रो प्रतिक्रिया आउने अपेक्षा गरे । महोत्सवको प्रदेश नम्बर ४ का आर्थिक मामिला मन्त्री किरण गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा चलचित्र प्रदर्शनसँगै विज्ञहरुबाट समीक्षाकोसमेत व्यवस्था मिलाइने आयोजक समितिका भुपाल गुरुङले बताए । एसोसिएसनका सल्लाहकार कृष्णकुमार गुरुङले गुरुङ मात्र नभै देशकै संस्कृतिको प्रतिनिधित्व गरेको भन्दै गैर गुरुङ समुदायबाट समेत सहभागीताको अपेक्षा गरे । गुरुङ भाषाका हालसम्म डेढ सय बढी चलचित्र बनिसकेको उनले बताए । पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले गुरुङ चलचित्रको प्रवद्र्धनमा सघाउने प्रतिवद्धता जनाए ।