वनविवादको जनप्रतिनिधिद्वारा अनुगमन

दमौली । व्यास ११ मुलपानीस्थित  मा पशुपति क्वेरीज नामक कम्पनीले सिमेन्ट कम्पनीमा प्रयोग हुने क्लिन्कर निर्माणका लागि ढुङ्गा उत्खनन गरिरहेको स्थानका विषयमा समाचार प्रकाशन तथा विवाद सृजना भए पछि व्यास नगरपालिकाका प्रमुख सहितको एक टोलीले सो स्थानको अवलोकन गरी विस्तृत अध्ययन आवश्यक देखिएकाले तत्कालका लागि उत्खनन कार्य रोक्न लगाएको छ ।
अवलोकनका क्रममा उपस्थित स्थानीयका अनुसार खानीमा प्रवेश गर्ने मार्ग सामुदायिक बनको स्वामित्वको छ । उत्खनन भइरहेको जग्गा मध्ये केही कम्पनीले खरिद गरेको, केही सामुदायिक वनसंग भाडामा लिएको तथा केही जग्गा सुकुम्बासी आयोगको सेतो लालपुर्जा भएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन पश्चात् कम्पनीका सञ्चालकलाई आवश्यक कागजात सहित व्यास नगरपालिकामा सम्पर्क गर्न र त्यतिन्जेलका लागि उत्खनन कार्य रोक्न नगर प्रमुख वैकुण्ठ न्यौपानेले कम्पनीका कर्मचारीलाई निर्देशन दिएका थिए ।
अनुगमन टोलीमा नगर प्रमुख न्यौपाने  सहित सहायक वन अधिकृत बाबुराम अधिकारी, वडाध्यक्षहरु मोहनकुमार श्रेष्ठ, निरबहादुर खड्का, नगरसभा सदस्य रबिन पौडेल, नगरपालिकका वरिष्ठ इन्जिनियर रबिन्द्रलाल मुल तथा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष डम्बर अधिकारीलगायत थिए ।