एसपी जोशीको डेढ वर्षे कार्यकाल अपराध अनुसन्धानमा अब्बल

 पवन पौडेल
दमौली । तनहुँमा प्रहरी उपरीक्षकका रुपमा कार्यभार सम्हालन आउँदा उमेशराज जोशीका सामु धेरै कार्यभार थिए । लागूपदार्थको बढ्दो दुव्र्यसन, आपराधिक घटनाको बढ्दो श्रृंखला तथा फरार अभियुक्तलाई पक्रनु उनका सामु देखिएका ठूला चुनौती थिए । यसका अलावा सुस्त संगठनलाई परिचालन गर्दै चुस्त पार्नु उनका सामू दायित्व बनेको थियो ।
 
भौतिक श्रोतसाधनको अभावसँग जुधिरहेका मातहतका एकाईलाई साधनश्रोतले सम्पन्न पार्दै अघि बढ्ने अर्को चुनौती पनि उनका सामु थिए । झण्डै डेढ वर्षे कार्यकाल सकिएर हिंड्नै लाग्दा जोशीले जिल्लावासीबाट वाहीवाही बटुलेका छन् । उनको कार्यकालमा हिंसात्मक अपराधका घटना घटे पनि त्यसको अनुसन्धानमा जोशीको खास दख्खल प्रष्टसँग देखियो ।
 
 
लामो समय अपराध अनुसन्धानमा दक्षता हासिल गरेका जोशीको अनुभवले तनहुँलाई राम्रै फाइदा भयो । हिंसात्मक केही घटना घटे पनि उनको कार्यकालमा कुनै पनि घटनामा दोषी नै पहिचान नहुने अवस्था नआउनुले आपराधिक अनुसन्धानमा उनको अब्बलता प्रमाणित भयो । खासगरी व्यास २ बुल्दी पुलनजिकैको एक हत्याको घटनामा शुरुमा परिवारतर्फ देखिएको शंका अनुसन्धानका क्रममा अन्तै मोडिएको थियो । अन्त्यमा घटना युवती जिस्काउने क्रममा माइती पक्षबाट आवेगपूर्ण रुपमा घटाइएको पुष्टि भयो । अरु केही हत्याका घटनामा अभियुक्त पक्राउ परे भने अदालतबाट लामो समयदेखि फरार दोषीलाई पक्राउ गर्न जोशी नेतृत्वको टिम सफल रह्यो । 
 
यसबाहेक उनकै सक्रियतामा आँबुखैरेनीमा अपराधको ठूलो सञ्जाल चलाउन सक्रिय अभियान श्रेष्ठ गोलीगठ्ठासहित पक्राउ परे । नदीको दोहनका घटनामा सोचेजति प्रगति नभए पनि लागूपदार्थको ओसारपसारमा उनको कार्यकालमा उल्लेख्य गिरावट आएको सर्वसाधारणले महसुस गरेका छन् ।
 
 
हँसिलो मुहार, कुटनैतिक स्वभाव र उच्चस्तरको सुझबुझका कारण जोशी यसअघिका प्रहरी उपरीक्षकभन्दा फरक देखिए । उनको कार्यकालकै क्रममा तनहुँ प्रहरी पटक पटक उत्कृष्ट ठहरिनुले पनि जोशीको कौशललाई प्रमाणित गरेको छ ।
 
मोबाईल हराएपछि भेटिन्न भन्ने बुझाई काठमाडौंबाट हराएको मोबाईल पनि भेट्टाएर बुझाउने देखि आशै मारेका मोटरसाईकल चोरीका घटनामा पनि कुशलतापूर्वक गरिएको अनुसन्धानले धेरैलाई राहत दिएको छ । समग्रमा वाहीवाही पाएर इन्टरपोल खटिएका जोशीको अभाव पूर्ति गर्न हालै इन्टरपोलबाटै सरुवा भै आएका सिद्धिविक्रम शाहले राम्रैसँग पापड बेल्नुपर्ने देखिन्छ ।