प्रहरीको कार्यसम्पादन सन्तोषजनकः व्यवसायी

दमौली । तनहुँमा डेढ वर्षको अवधिमा सुरक्षाका हिसाबले प्रहरीको कार्यसम्पादन सन्तोषजनक रहेको निष्कर्ष व्यवसायीले निकालेका 
छन् ।
तनहुँ उद्योग वाणिज्य संघले सरुवा भएर जान लागेका प्रहरी उपरीक्षक उमेशराज जोशीको बिदाईका लागि आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले जोशीको कार्यकाल आपराधिक घटना नियन्त्रणका दृष्टिले उल्लेखनीय भएको बताए ।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले जोशीको कार्यकाल सफल भएको बताए ।
चरम राजनीतिक दबाब आउने ठाउँमा सुरक्षा प्रमुखहरु लामो समय नटिक्ने गरे पनि जोशीले लामो समय कार्यकाल सफलतापूर्वक गरेको बताए ।  संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले व्यवसायीले व्यवस्था गरेको क्यामेराको उपयोग गरेर सुरक्षा व्यवस्थापन गरेको भन्दै प्रहरीको प्रशंसा गरे । एकाईका निवर्तमान सभापति कृष्ण आचार्यले व्यवसायीले सुरक्षित महसुस गर्ने वातावरण श्रृजना भएको बताए । एकाई सभापति राजकुमार श्रेष्ठ राकुले तनहुँमासमेत व्यवसायीलाई फिरौतीको समस्या देखिएकोमा प्रहरीको कुशलताका कारण घटना घट्नबाट जोगिएको बताए । 
व्यवसायीलाई प्रहरीबाटै दुःख हुनेमा अवस्था फेरिएको उनले
 बताए । यसैबीच, एकाईले आफ्ना सदस्य प्रतापसिंह अधिकारीको उपचारका लागि परिवारर्ला एक लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । एकाईको पहलमा संकलित एक लाख १० हजारमा थप गरेर एक लाख २५ हजारको चेक भाई प्रकाश अधिकारीलाई हस्तान्तरण गरेको सचिव दधिराज घिमिरेले 
बताए ।