राप्रपालाई पाठ

दोश्रो संविधानसभा निर्वाचनताका हिन्दुत्वको नारा चर्कोसँग उचालेको राप्रपा नेपाल पुरानो पार्टी राप्रपासँग विलय भएसँगै देशमा राजतन्त्रपक्षीय नागरिकमा आशा पलाएको थियो । हिन्दुत्व रक्षा र राजतन्त्र समेतको नारा लिएर समानुपातिकमा असाधारण मत परिणाम पाउन सफल तत्कालीन राप्रपा नेपाल कहिल्यै सत्ताबाट विमुख भएन । पञ्चायतकालीन सत्ताको स्वाद चाखेको दलका नेता कमल थापा बहुदल र अझ गणतन्त्रपछि झनै शक्तिशाली बन्न पुगे । तर जुन नारा र सिद्धान्त बोकेर उनी यात्रा गर्दै थिए, त्यसलाई तिलाञ्जली दिएर सत्ताको स्वादमा रमाउन थाले पछि यसपल्ट उनका मतदाताले झापड दिएका छन् । दुई पुराना राजावादी धार एक भएर झन बलियो हुनुपर्नेमा चुनावनजिकै सत्ताकै कारण फुट आयो, एकातिर सिद्धान्तको विचलन अर्कोतिर फुट अनि नयाँ आशावादी नारा दिन नसक्नुको कारण राप्रपा राष्ट्रिय दल बन्ने अवस्थाबाट पर धकेलियो । यसले नेपालको राजनीतिको एक धारलाई विस्तारै कमजोर पारेको छ । यो पाठ अहिलेका शक्तिशाली दलका हकमा पनि लागु हुन्छ । सैद्धान्तिक विचलन र उल्लेख्य काम नगर्ने हो भने मतदाताले जतिसुकै ठूलो ठाउँमा उकाल्न अनि मैदानमा झराल्न पनि सक्छन् भन्ने पाठ राप्रपा बन्न पुगेको छ । यसबाट सबै राजनीतिक दलले पाठ सिक्नु जरुरी छ ।