अध्यक्षले मनोमानी गरेको भन्दै कार्यपालिका बैठक बहिष्कार

    दमौली । गाउँपालिका अध्यक्षले बजेट तथा योजनामा मनोमानी गरेको भन्दै तनहुँको देवघाट गाउँपालिकाका जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गरेका छन् । गाउँपालिकाका १३ मध्ये १० जना कार्यपालिका सदस्यले बैठक बहिष्कार गरेका हुन् । अध्यक्षले बिनाकुनै जानकारी योजनामा बजेट विनियोजन गरेको तथा हिसाबकिताब समेत बैठकमा सार्वजनिक नगरेपछि बैठक बहिष्कार गरेको वडा नम्बर ४ का वडा अध्यक्ष पदम गुरुङले बताए । गाउँपालिकाकी उपाध्यक्ष बिमला थापासहित अधिकांश सदस्य बैठकमा नआए पछि बैठक हुन सकेन । मंगलबार तोकिएको बैठकमा आउन अस्विकार गरेका आफूहरुले बुधबारसम्म यसअघिका हिसाबकिताब सार्वजनिक गर्न माग गरे पनि दिन अध्यक्षले नगकेका कारण बैठक बहिष्कार गरेको गुरुङले बताए । गाउँपालिका उपाध्यक्ष थापाले कुनै पनि विकासका योजनामा वडा तथा आफूसँग परामर्श नगर्ने गरिएको उनले 
बताइन् । गाउँपालिकामा अध्यक्ष एमालेका दुर्गाबहादुर थापा छन् ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
उपाध्यक्षसहितका अधिकांश सदस्य कांग्रेसका हुन् । उनीहरु सबै अध्यक्षविरुद्ध उत्रिएका हुन् । 
वडाअध्यक्ष गुरुङले बैठकमा उपस्थितीमा माइन्युट गराइए पनि पछिको निर्णयबारे थाहा नहुने 
सुनाए । ‘हाम्रा योजना कुनमा कति बजेट खर्च भए केही जानकारी 
गराइएको छैन,’ उनले भने,‘व्यापक आर्थिक अनियमितताको गुनासो नागरिकबाट आए पछि अब नसहने 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
निर्णय गरेका हौं ।’ 
गाउँपालिकामा विभिन्न विषयगत क्षेत्रका लागि एकमुष्ट बजेट विनियोजन भए पनि कुन शीर्षकमा कति खर्च भयो र कहाँ कहाँ योजना परे जानकारी नै नहुने गुरुङले दाबी गरे । वडामा सिधै विकासका लागि कुनै पनि बजेट विनियोजन नगरी आफ्नै मनोमानी तरिकाले वितरण गरेको र त्यसमा आर्थिक अनियमितता भएको हुनसक्ने उनले आरोप लगाए । एमालेबाट विजयी थापाले आफूनिकट पार्टीका वडामा बढी बजेट विनियोजन गरेकोसमेत उनले बताए । गाउँपालिका अध्यक्ष थापाको नम्बरमा सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन । बुधबार दिनभर नै उनको मोबाईल अफ थियो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले आफूले विकास समानुपातिक नभएको गुनासो सुनेको बताए । ‘केही वडामा बढी बजेट गएको तर अन्यत्र समान नगएको सुनेको छु,’ उनले भने,‘तर हामीकहाँ औपचारिक गुनासो आएको छैन । गुनासो आएमा दुवै पक्षलाई राखेर नियमअनुसार गराउन पहल गर्नेछौं ।’