सर्जनले ल्याए ‘तनह“ुको चिनो कौरा’

    दमौली । मगर संस्कृतिका हिसाबले धनी जिल्ला तनहुँ । तनहुँको कौराबारे नसुन्ने त कमै होलान् । तर यही कौरामा पछिल्लो समय विकृति पनि देखिएको छ ।
मौलिक कौराका विविध पक्ष झल्काउने प्रयास गरेका छन्, तनहुँका नृत्य कलाकारले । नृत्य निर्देशकका रुपमा सक्रिय भिक्टोरिया डान्स एण्ड एक्टिङ स्कूलका निर्देशक सर्जन थापाले मौलिक कौरालाई विश्वमाझ चिनाउनका लागि भन्दै ‘तनहुँको चिनो कौरा’ भिडियो बजारमा ल्याएका 
छन् । झण्डै दर्जन बढी भिडियोको नृत्य निर्देशन गरिसकेका सर्जनले यसपल्ट मौलिक संस्कृतिमा मेहनत गरेको बताए । ‘अरु लोकगीतको धेरै काम गरिसकें,’ उनले भने,‘सांस्कृतिक पाटोलाई चिनाउनका लागि केही गरौं भनेर कौराको भिडियो गरेको हुँ ।’
भिडियोमा पदम नेपाली र रुपा रानामगरको मुख्य अभिनय
 छ । साथै मगर भेषभुषामा सजिएका कलाकारहरुले कौरा नृत्य पस्किएका छन् । यमसागर विकको लय, स्वर तथा शब्द रहेको गीतमा पदम नेपाली र रुपा थापामगरको पनि स्वर छ । 
मगर समुदायले पहिल्यैदेखि कौरा नाच पस्कँदा लगाउने पोशाकलाई गीतले समेटेको छ । पछिल्लो समय मौलिक कौरामा विकृति आएको भन्दै आलोचनासमेत हुने गरेको छ । कौरा नाममा पोशाकमा आएको विकृतिले मौलिकता हराएको भन्दै मगर अगुवाले दमौलीमा मौलिक कौरा सम्मेलनै गरेका थिए । सर्जन आफ्नो प्रस्तुतीमा पोशाक र नृत्य दुवैमा मौलिकपन देखिएको दाबी गर्छन् । ‘तनहुँलाई धेरैले कौराबाट चिनेका छन्,’ उनले भने,‘त्यही भएर सक्दो चिनाउने प्रयास गरेको छु ।’
कौराको उद्गमभूमि तनहुँमा पछिल्ला समय बनिरहेका भिडियोले कौराको प्रचारमा सघाइरहेका छन् । तर मौलिकपनमा विशेष जोड दिन सकिए मात्र पछिल्ला पुस्ताले पनि यसलाई अनुशरण गर्न सक्ने मगर संस्कृतिका जानकार यामबहादुर आले बताउँछन् ।