बलात्कार आरोपी वडाध्क्षलाई प्रहरीले पक्रेन

 दमौली । एक युवतीमाथि बलात्कारको आरोप लागेका तनहुँको घिरिङ गाउँपालिका ४ का वडाध्यक्ष झकबहादुर कुमाललाई प्रहरीले पक्राउ गर्न सकेको छैन । स्थानीय एक विवाहित युवतीमाथि कुमालले बलात्कार गरेको अभियोगमा नवलपरासी बर्दघाट सुस्तापूर्वमा दर्ता जाहेरीपछि पक्राउ पुर्जी जारी गरिएको छ । मंगलबार उनलाई पक्राउ गर्ने पुर्जी जारी भए पनि कुमालले आफू वडा कार्यालयमै बसेर काम गरिरहेको भन्दै सार्वजनिक सञ्चारमाध्यममा अन्तवार्तासमेत दिएका थिए । आरोप अस्विकार गरेका कुमालले आफूले गल्ती नगरेको र जनताकै काम गरिरहेको बयान दिएका थिए ।
बलात्कार मुद्दा दर्ता भैसकेर पक्राउ पूर्जी जारी भैसक्दासमेत कुमाल खुला हिंडिरहनुले उनलाई नपक्रन राजनीतिक दबाब आएको हुनसक्ने आशंका गरिएको छ । उनी एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन्् । एमालेका केही नेताहरुबाट उनलाई नपक्रन दबाब आएको पीडितपक्षको आरोप छ । कुमाल बुधबार भीमाद तथा दुलेगौंडा र दमौलीमासमेत देखिएका थिए । तर प्रहरीले उनलाई पक्रन सकेन । 
दुलेगौंडामा मोटरसाईकल मर्मत वर्कसपमासमेत उनी देखिएको एक प्रत्यक्षदर्शीले बताए । यसअघि भीमादमा स्थानीयले उनलाई पक्रने प्रयास गरे पनि उनी उम्किएर हिंडेका थिए । तनहुँका प्रहरी निरीक्षक बाबुराम पोख्रेलले आफूहरुलाई कसैले पनि दबाब नदिएको जिकिर गरे । ‘हामीलाई नपक्रनका लागि दबाब छैन,’ उनले भने,‘पक्राउका लागि सादा र पोशाककै प्रहरी खटाएका छौं ।’ घटना गत शुक्रबार प्रहरीको जानकारीमा आए पनि यति लामोसमयसम्म नपक्रनुले दबाबलाई नै कारण ठानिएको छ । पोख्रेलले पक्राउको पत्र आउनासाथ आफूहरुले प्रहरी टोली खटाएको दाबी गरे । 
तर कुमालले भने आफू वडा कार्यालयमै रहेको सार्वजनिक बयान दिनुले पनि उनलाई पक्राउ नगर्नका लागि दबाब आएको आशंकालाई बढावा दिएको छ ।
यसबीचमा कुमालले पीडितको परिवारलाई जाहेरी फिर्ता लिनका लागि धम्की दिएको आफन्तको भनाई छ । उनले परिवारलाई पहिले नै आर्थिक प्रलोभन दिएर मुद्दा मिलाउन खोजेको सार्वजनिक भएको थियो । पीडितपक्षले नमानेपछि उनले मुद्दामामिला गरे राम्रो नहुने चेतावनी दिएका थिए । यसैबीचमा पीडित गत बिहिबार राती दमौली आएर शुक्रबार तनहुँ प्रहरीमार्फत जाहेरी दिएकी थिइन् । अझै पनि कुमालले धम्की दिंदा र प्रहरीले पक्राउ नगर्दा पीडित पक्षले न्याय पाउने आशा कमजोर भएको बताएका छन् ।
तर प्रहरी निरीक्षक पोखेलले आफूहरुले जताततै सञ्चार गरेको भन्दै कुमाललाई पक्राउ गरी छाड्ने दृढता व्यक्त गरेका छन् ।