दलीय आडमा उन्मुक्ति नदेउ

घिरिङ गाउँपालिकाका एक वडाध्यक्षमाथि बलात्कारको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । तर राजनीतिक पहुँचको आडमा उनी पक्राउ परेका छैनन् । कुनै पनि दलको दलगत आस्था र विश्वासमा अपराध जोडिनु हुँदैन । आरोप लागेको छ भने गलत व्यक्ति त्यत्तिकैमा अपराधी हुँदैन । उसले न्यायको कठघरामा गएर निर्दोष भए आफ्नो गल्ती नभएको प्रमाणित गर्न पनि 
सक्दछ । तर झकबहादुर कुमालको हकमा प्रहरीले पक्राउ नै गरेको छैन । अभियोग लागिसके पछि जनताका प्रतिनिधि आफै गएर निर्दोष भए प्रमाणित गर्नुपर्ने हो तर उनी त्यस प्रक्रियाबाट पन्छिएर भाग्नुले दालमा कालो भएको आशंक ागर्न सकिन्छ । दलले कोही पनि व्यक्तिलाई राम्रो कामका लागि संरक्षण र साथ दिने हो । गलत कामका लागि पनि साथ दिंदै जान थालियो भने भावी दिनमा अराजकता बढदै जान्छ । अन्ततोगत्वा दलप्रतिको आस्था नै अनास्थामा बदलिन सक्छ । यसर्थ पनि कुनै पनि राजनीतिक दलले आफ्ना मान्छे भन्दैमा गलत काम गर्नेलाई जोगाउन लागि परेमा त्यसले दललाई नै घाटा पर्न सक्छ । निकै जोश र जाँगरका साथ तनहुँ भित्रिएका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अगाडि पनि जनप्रतिनिधि जोडिएको यस प्रकरण पहिलो परीक्षाको घडी हो । उनले दलगत दबाब र प्रभावमा काम गर्छन कि साँच्चै नियमको पालना गरेर काम गर्छन् अबको केही समयमै थाहा हुन्छ । जनताको लोकप्रिय मतका साथ सरकारमा गएका जुनसुकै दल विशेषले सत्ताका प्र्रभावमा अपराधलाई संरक्षण दिंदै जाने हो भने विधिको राज्यका नाममा कलंक थपिंदै जानेछ ।