आफ्ना लागि आफै तातौं

अभाव कहाँ हुँदैन र ? अभाव हटाउने उत्तम विकल्प भनेको विकल्पको खोजी नै हो । आफ्नो एक प्रमुख अभावलाई कम गर्न तनहुँको विकट देवघाट गाउँपालिकाको कोटास्थित जुनोदय निमाविले अघि सारेको योजना सबैमाझ प्रशंसनीय बनेको छ । विद्यालयमा कम्प्युटर शिक्षा विषय लागु भए पनि कम्प्युटर भने नभएको अवस्थामा विद्यालयले त्यसको उपलब्धताका लागि विकल्प खोजेको छ । उसले सामाजिक सञ्जाल फेसबुकमार्फत दाता सुभेच्छुकसंग गरेको आग्रह निकै लोकप्रिय भएको छ । धेरै क्षेत्रबाट त्यहाँका बालबालिकाको कम्प्युटरमै पढ्ने चाहना पुरा गर्नका लागि हातहरु अघि बढेका छन् । यसले धेरैको मन पग्लिएको छ भने हात पनि अघि बढेको छ ।
हामीकहाँ धेरै सामुदायिक विद्यालयहरु छन् । सरकारले अर्बौं लगानी गरे पनि श्रोतको सीमितताका कारण सबैले पाउनुपर्ने जति सुविधा पाउन सकेका छैनन् । खासगरी संख्यात्मक हिसाबले कम विद्यार्थी भएका र विकटमा रहेका विद्यालय यस्तो सूचीमा अघि पर्छन् । उनीहरुको आर्थिक श्रोत पनि सबल हुँदैन भने विकासे निकायको दृष्टिबाट पनि उनीहरु लुकेका हुन्छन् । यस्तोमा ती विद्यालयहरुले चाहने हो भने उनीहरुसामु विकल्प प्रशस्तै छन् भन्ने कुरा जुनोदय निमाविले अघि सारेको योजनाबाट खुलेको छ । छोटो समयमै दाताहरुबाट जिज्ञासा, चासो र चर्चा बढ्नुले एक दिन अवश्य पनि विद्यालयको योजना पुरा हुनेमा शंका छैन । यसले एउटाको समस्या समाधान गरेर अरुलाई पनि बाटो देखाइदिएको छ । अन्य विद्यालयहरुले पनि समुदायको मन जितेर यस्तै श्रृजनात्मक काम गर्ने हो भने विद्यालयहरु वास्तवमै सामुदायिक हुनेछन् । अनि त्यसमा समुदायको लगानी पनि बढ्नेछ । यो भनेको सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका पक्षमा शसक्त कदम हुनेछ ।