तनहुँ प्रहरीका कार्यदिशा

नयाँ प्रमुखका रुपमा जिम्मेवारी सम्हालेलगत्तै तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले केही दिनमै देखिने गरी परिवर्तन ल्याउने घोषणा गरेका छन् । यो घोषणा हरेक पटक आउने नयाँ प्रहरी प्रमुखको नियमित कार्यसूचिमै पर्दछ । सायद शाहले पनि निरन्तरता दिए । तर मुख्य कुरा बोलेका कुराको कार्यान्वयन हो । कोही कसैले पनि नराम्रो काम गर्छु भनेर सार्वजनिक प्रतिवद्धता गर्दैन । गरिएका प्रतिवद्धताको कार्यान्वयन नै असल मापक हो । प्रहरी प्रमुख शाहले आफू जिल्ला आएको शुरुवातकै केही घटनाक्रमहरु पत्रकार सम्मेलनकै दिन पारेर सार्वजनिक गरे । जसमा विगतका आपराधिक पृष्ठभूमिमा फरार रहेका पक्राउको संख्या अधिक थियो । केही दिनमा महसुस हुने बताएका शाहले शुरुवाती दिनका शंकेतहरुका आधारमा आफू साँच्चै काम गरेर देखाउने पक्षमा रहेको शंकेत गरेका पनि छन् । हालै सरुवा भएर गएका उमेशराज जोशीका पालामा अनुसन्धानमा केही बढी दख्खल देखिएकै हो । एक अपहरण र एक हत्याको घटनामा गरिएको आश्चर्यजनक घटनाले वास्तविकता ल्याउन तथा एक ठूलो क्षति टारेको थियो । यसका अलावा अन्य केही घटनामा पनि अनुसन्धानको पक्ष अब्बल नै रह्यो । तनहुँमा जुनसुकै व्यक्ति प्रहरी प्रमुखका रुपमा आए पनि मुल समस्या उस्तै छन् । आपराधिक सञ्जालको बाक्लो पहुँच, हेर्दा सुरक्षित देखिए पनि बेला बेला आश्र्चजनक हिंस्रक झडप, लागूपदार्थ प्रयोगकर्ताको बाक्लो सञ्जाल, दुर्घटनामा बढोत्तरी, जुवातासको बढ्दो प्रचलन अनि प्राकृतिक श्रोतको दोहन मुख्य सुरक्षा चुनौती हुन् । जसलाई शाहले पनि पत्रकारसम्मेलनमै आत्मसात गरेको बताएका थिए । यी र यस्ता घटनाको न्यूनीकरणका लागि कतिपय प्रहरी अधिकारीहरुको संदिग्ध भूमिकाले पनि नियन्त्रणमा ल्याउन दिएको छैन । गुण्डागर्दी सञ्जालसँगको बाक्लो सम्पर्क र यदाकदा सार्वजनिक हुने लेनदेनका खबरले पनि यसमा शंका गर्ने ठाउँ बनाइदिएको छ । अनि होटल व्यवसायीसँग विभिन्न नाममा आर्थिक लाभ लिने गरेका कुरा पनि आम व्यवसायीमाझ चर्चामा रहने गरेको छ । प्रहरीले अरुलाई सुधार्नका लागि पहिले शुरुवात आफैबाट गरे मात्र शाहले भनेजस्तै साँच्चैको परिवर्तन सम्भव छ ।