खेम गुरुङ प्रहरी नियन्त्रणमा

दमौली । गत वर्ष भदौमा भएको खुकुरी प्रहारको घटनामा संलग्नताको आरोपमा तनहुँ प्रहरीले व्यास ४ का खेम गुरुङलाई पक्राउ गरेको छ । गत भदौ १६ गते व्यास ७ सत्रसयमा तीन युवालाई खुकुरी प्रहरी प्रहार गरेर घाइते बनाएको अभियोगमा तनहुँ प्रहरीले व्यास ४ निवासी खेम गुरुङलाई पक्रेको छ ।
सोमबहादुर गुरुङ भनिने अजय गुरुङ समेतको समुहले स्थानीय २५ वर्षका चुनबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षका चिमानसिंह गुरुङ र २९ वर्षका विजय क्षेत्रीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाएको अभियोग छ । घटनामा अजयसँगै खेमकोसमेत संलग्नता रहेको भन्दै प्रहरीले उनलाई झण्डै आठ महिनापछि पक्रेको हो । होटल ग्यालेक्सीमा बसिरहेका बेला प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । दिउँसो पक्राउ गरेका उनीविरुद्ध ज्यान मार्ने मुद्दामा कारबाही चलाउने प्रहरीको तयारी छ । सोमबार अदालतको काम नसकिएको भन्दै उनीलाई मंगलबार अदालतमा पेश गर्ने प्रहरी तयारी छ ।   प्रहरीको प्रमुखमा आएसँगै शाहले केही दिनयता विगतका आपराधिक घटनामा फरार रहेका अभियुक्तहरुलाई धमाधम पक्राउ गरेका छन् । उनले केही दिनभित्रै सुरक्षाको महसुस गराउने प्रतिवद्धता जनाएका थिए ।