अपराधमा नगरौं राजनीति

एक जना बलात्कार अभियुक्त वडाध्यक्ष पक्राउ नभएको विषयले तनहुँमा राजनीतिक रंग लिएको छ । नेकपा एमालेका तर्फबाट निर्वाचित घिरिङ गाउँपालिका ४ का वडाध्यक्ष झकबहादुर कुमाल अझैसम्म प्रहरी नियन्त्रणमा आउन सकेका छैनन् । जबकि त्यही प्रहरीले ६ महिना तथा वर्षदिनदेखि फरार सूचीमा रहेका अभियुक्तहरुलाई धमाधम पक्रिरहेको छ । व्यवसायिक हिसाबले गुण्डागर्दीको आरोप लागेकाहरुलाई पनि प्रहरीले चाह्यो भने पक्राउ गर्न सक्दो रहेछ भनेर वर्तमान प्रहरी नेतृत्वले प्रमाणित गरिरहेको छ । तर सोही प्रहरी राजनीति जोडिएको विषयमा काम गर्न भने डराईरहेको छ । केही दिनभित्र नै देखिने गरी आपराधिक घटनामा नियन्त्रण ल्याउने महत्वाकांक्षा पालेका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहको अभियान यही गतिमा अघि बढेमा आपराधिक क्रियाकलापमा कमी आउने शंकेत नदेखिएका पनि होइनन् । तर बलात्कारजस्तो गम्भीर आरोपमा पक्राउ पुर्जी जारी भएका जनप्रतिनिधिलाई पक्रन नसक्नुले राजनीतिक दबाबमा उसले काम गर्न नसेको प्रष्ट भएको 
छ । हेर्दा कांग्रेस र एमालेको लडाइंजस्तो देखिएको यो घटनामा पीडितका कुरा छायामा परेको छ । सत्तारुढ दल एमाले आफ्ना प्रतिनिधिलाई जोगाउन भरमग्दुर प्रयासमा लागिरहेको छ । उता, यही घटनामा विपक्षीलाई बद्नाम गराउन सकिन्छ भन्ने आशमा कांग्रेस सक्रिय छ । यही दुई दलको चपेटामा जघन्य अपराध छायामा परिरहेको छ । अपराधको कुनै पनि जात, धर्म वा विचार हुँदैन । यसकारण सत्तारुढ पक्षले आफ्नो सत्यता र निष्पक्षता प्रमाणित गर्नका लागि पनि आरोपितलाई संरक्षण नगरी कानुनी कारवाहीमा लैजान दिनुपर्छ । प्रहरीले पनि कसैको दबाबभन्दा पनि कानुनलाई पालना गरेर अनुसन्धान अघि बढाउन मद्दत गर्नुपर्दछ ।