हाकिम होइन सेवक बन

कर्मचारीहरुले आफ्नो हक हितका सवालमा राम्रैगरी आवाज उठाउँछन् । कर्मचारीको हकहितका सवाल उठ्नु जायज पनि हो तर यसै समयमा उनीहरुको कर्तव्य र व्यवहारका बारेमा पनि चर्चा र समीक्षा जरुरी छ । भन्दा राष्ट्रसेवक भन्ने गरिए पनि 
कर्मचारीतन्त्रमा अझै पनि राणा र पञ्चायतकालीन हैकमवादको धङधङी हट्न सकेको छैन । कर्मचारीहरु नागरिकका सेवक हुन् । सकेसम्म उनीहरुलाई बढी सेवा दिनु र काममा सहजता ल्याउनु उनीहरुको दायित्व पनि हो । तर अहिलेसम्मको अवस्था हेर्दा कर्मचारी साँच्चिकै सेवक हुन कि पीडक भन्ने प्रश्न उठाउन नागरिक बाध्य बनेका छन् । सरकारी कार्यालयमा हुने ढिलासुस्ती अनि नागरिकलाई विभिन्न नाममा दिइने दुःखले नागरिकले तिरेको करबाट पालिने व्यक्तिहरुबाटै उनीहरु समस्यामा परेको देखिएको छ । नागरिकहरुमा 
कर्मचारीतन्त्रप्रति वितृष्णा आउने एउटा कारण पनि ढिलासुस्ती र उनीहरुको नम्र नहुने व्यवहार पनि हो । कर्मचारीहरु हाकिम वा शासक नभै नागरिकको सेवक नबन्दासम्म नागरिक र कर्मचारीतन्त्रबीचको खाडल अन्त्य हुने छैन । आफ्नो हक हितका पक्षमा कर्मचारीतन्त्रले आफुलाई नागरिकले कुन रुपमा हेरेका छन् र कर्तव्यपारायणतामा उनीहरुको योगदान कत्तिको छ भनेर समीक्षा गर्नैपर्छ ।