लागुऔषध नियन्त्रणमा युवालाइ सघाऔं

दमौली लागुुपदार्थ प्रयोगकर्ताको सुरक्षित गन्तव्य बन्दै गएको कुरा त सबैले देखे सुनेकै हुन् । यसको प्रयोग कम गर्न र नियन्त्रणका लागि काम हुनुपर्छ भनेर आवाज पनि उठ्दै आएको हो । तर प्रहरीले प्रयोग र ओसारपसारकर्ता समात्ने बाहेक नागरिकस्तरबाट यसको प्रयोग निरुत्साहित गर्न खासै काम भएको देखिएको छैन । यस्तो अवस्थामा पूर्व प्रयोगकर्ता युवा आफै कुलतमा फसेका साथीहरुको जीवन परिवर्तनका लागि अघि बढ्नुले समाजमा राम्रो सन्देश दिएको छ । आफ्नो तीतो विगतलाइ भुल्ने प्रयासमा रहेका पूर्व प्रयोगकर्ताहरु अरु साथीलाई पनि सुधार्ने अभियानमा जुट्नु र त्यसका लागि सुधारगृह समेत दमौलीमा स्थापना हुनु निकै सुखद् कुरा हो । बेरोजगारी र उत्प्रेरणाको अभावका कारण युवा पुस्ता लागुपदार्थको कुलतमा फस्दै गैरहेका छन् । अभिभावकले आफ्ना सन्ततिबारे जानकारी राख्न नसक्नु अनि स्थिती बिग्रिसकेपछि पनि सामाजिक प्रतिष्ठाका कारण कुरा लुकाउन खोज्नुले भुसको आगोसरह यसको विकृति 
बढ्दैछ । अभिभावकवर्गबाट खासै पहल नभए पनि युवा आफैले आफ्नो उमेरका युवालाइ परिवर्तनका लागि थालेको सुधारगृह चाँडो सञ्चालनमा ल्याउन र त्यसको व्यवस्थित सञ्चालनमा सघाउनु हामी सबैको दायित्व हो । यस कार्यमा नगरका टोल विकास संस्था तथा सामाजिक संस्थाले काँधमा काँध मिलाउनु जरुरी छ । अनि मात्र लागुपदार्थको दुव्र्यसनरहित दमौली बनाउने हाम्रो परिकल्पनाले सार्थकता पाउनेछ ।