राजमार्ग सफा गरौं

पृथ्वी राजमार्गमा पर्ने तनहुँको ७२ किलोमिटरमध्ये केही खण्डमा सडकको अवस्था खराब भएका कारण दुर्घटनाका जोखिम बढेका छन् । कुम्लेखोलादेखि कोत्रेसम्मका खण्डका केही भागमा सडकमा खाल्डाखुल्डी छन् । यसबाहेक दुलेगौंडाबाट कोत्रेसम्म सडक भत्काएर बनाएको भनिए पनि अवस्था सन्तोषजनक छैन । यसले गर्दा दुर्घटनाको जोखिम बढेको छ भने यात्रुलाई असहजता भएको छ । यसका अलावा राजमार्ग क्षेत्रका धेरै भागमा सडकबाटै बाटो खन्ने तर सफाई नगर्ने कारण मोटरसाईकलमा यात्रा गर्नेहरुलाई धुलो र धुवाँले निकै नै सास्ती दिइरहेको छ । यसतर्फ सम्बद्ध निकायको ध्यान गैरहेको छैन । सडक सफाईका लागि कर्मचारी खटिए पनि राजमार्गमा अत्यधिक मात्रामा धुलो उडिरहँदा यसले आवतजावत गर्नेहरुलाई आँखामा पसेर दुर्घटनाको जोखिम निकै बढाएको छ । सहरी क्षेत्रमा समेत सडकमा धुलो उड्ने र सफाई नहुने समस्या देखिएकाले यसको नियन्त्रणका लागि पश्चिमाञ्चल सडक डिभिजन तथा व्यास नगरपालिका समेतले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने देखिन्छ । 
राजमार्गमा यातायातका साधन बीना कुनै अवरोध सहजतापूर्वक हिंड्न पाउने व्यवस्था हुनुपर्ने हो । तर त्यसो नहुँदा यसले यात्रु र सवारीसाधनलाई असुविधा तथा यस्तै कारण दुर्घटनाको जोखिममा लगेको छ । 
राजमार्गका केही भागमा राखिएका सडकको क्षेत्र चिनाउने चिह्न पनि खिइएका छन् । यसका अलावा जेब्रा क्रसिङजस्ता चिह्न पनि धेरै ठाउँमा मेटिएका 
छन् । सडकमा रातीका समयमा प्रकाशमा टल्कने गरी
राखिएका चिह्न पनि हराइरहँदा समयमै मर्मत नभएको पाइएको छ । दुर्घटनाको जोखिम घटाउँदे सडक सुरक्षा वृद्धिका लागि यसतर्फ सडक डिभिजनले ध्यान दिनु जरुरी छ ।