जलवायु परिवर्तनसँग जुध्न अनुकुलन

विश्व चरम औद्योगिकरणमा रहेका बेला जलवायु परिवर्तन र यसका कारण सिर्जित समस्याहरु चुनौतीपूर्ण बनिरहेका छन् । जलवायु परिवर्तनका असरहरु जटिल बन्दै जान लागेको अवस्थामा एकातिर औद्योगिकीकरणको ढाँचालाई समयानुकुल परिवर्तन गर्दै लाने चुनौती खडा भएको छ भने अर्कोतिर यसका असरसँग जुध्न र वातावरणलाई जोगाउन चालिनुपर्ने कदमका विषयमा पनि बहस चल्न थालेको छ । महाशक्ति अमेरिका जसले पहिले आफूलाई जलवायु परिवर्तनका असरबाट जुध्न अग्रपंक्तिमा उभ्याउँथ्यो, उसले हाल यसबाट हात झिकेर दौडबाट बाहिरिएको अवस्था छ । यस्तोमा जलवायु परिवर्तनसँग जुध्नका लागि नयाँ खालको अस्त्रबारे सोच्नुपर्ने बेला आएको छ । जलवायु परिवर्तनको असरबाट जोगिनका लागि अपनाउनुपर्ने कदमका बारेमा विकसित विश्व कार्बन उत्सर्जनको कटौतीका बारेमा सहमत छ । यसबाहेक अल्पविकसित मूलुकका काँधमा भने आफूसँगै विश्वलाई जोगाउनुपर्ने दायित्व आइपरेको छ । विकसित मूलुकका चरम औद्योगिकीकरणको असरका कारण जलवायु परिवर्तनको समस्या देखिए पनि यससँग जुध्नका लागि अल्पविकसित मूलुकले बढी ध्यान दिनुपर्ने छ । नेपालजस्ता मूलुकले वातावरणको संरक्षणबाट आफूमात्र नभएर विश्वको जैविक विविधता संरक्षणमा योगदान दिन सक्छ । यसले कार्बन व्यापार र समग्र विश्वलाई नै डरलाग्दो खाडलाट जोगाउन सक्छ । यसका लागि स्थानीय समुदायको आयमा पनि बढावा पुग्ने गरी वातावरणमैत्री व्यवसाय अहिलेको आवश्यकता हो । वनसम्पदाको संरक्षण मात्र नभै सदुपयोगबाट उसलाई पनि हानी  नहुने गरी आफ्नो आयको श्रोत बनाउन पनि सकिन्छ । विकासका जानकारहरुले विकसित गरेको अनुकुलन विधिमा आधारित आयमूलक गतिविधिको बढावा नै नेपालजस्तो अल्पविकसित मूलुकका लागि अचुक अस्त्र हो ।