टिकट बेचाउनेहरुको भीडमा साइनिङ स्टारको ओज

दमौलीमा जेसिआई व्यास नगरको आयोजनामा सञ्चालित व्यास नगर साइनिङ स्टार प्रतियोगिताको समाप्तिले सुखद् नतिजा दिएको छ । विद्यालय उमेरका बालबालिकाहरुका लागि सञ्चालित प्रतियोगिताले फगत नतिजा मात्र सार्वजनिक नगरी बालबालिकाको प्रतिभासमेत विकास गराएको कार्यक्रमको दृश्यले प्रमाणित गरेको छ । पछिल्ला समय प्रतिभामूलक प्रतियोगिताको एकखालको बाढी नै दमौलीमा देखिन थालेको छ । गतिलो तालिम पनि नदिने अनि टिकट धेरै बिकाउनेलाई सिधै विजेताको पगरी दिने त्यस्ता गुणस्तरहीन कार्यक्रमले प्रतियोगिताको शोभा त घटाएको छ नै विकृतिसमेत थपेको छ । क्षमताभन्दा पैसा र पहुँचका आधारमा विजेता हुने र क्षमता विकासको गतिलो फोरमसमेत दिन नसक्ने त्यस्ता प्रतियोगिताको भिडमा साना बालबालिकाका लागि लक्षित जेसिजको प्रतियोगितालाई मुक्तकण्ठले प्रशंसा गर्न सकिन्छ । एक महिने तालिममा साना बालबालिकाले विकास गरेको क्षमता र प्रतिभाले साँच्चै उनीहरुलाई भावी दिनमा व्यक्तित्वमा फाइदा पुग्ने देखिन्छ । यसलाई विगतका नतिजाले समेत पुष्टि गरेका छन् । दमौलीमा पैसाकै लागि सौन्दर्य र प्रतिभाको पसल थापेकाहरुका लागि टिकट बेच्नैपर्ने अनिवार्यता नभएको र क्षमताकै आधारमा विजेता बन्नसक्ने प्रतियोगिता साँच्चिकै प्रेरणादायी छ ।