दमौलीमा सौन्दर्य प्रतियोगिता

दमौलीमा पछिल्ला समय सौन्दर्य प्रतियोगिताहरु भैरहेका छन् । स्थानीयस्तरमै हुने गरेका सौन्दर्य प्रतियोगिताहरुले जिल्लामा सौन्दर्य प्रतियोगिताको भविष्य देखाइरहेका छन् । खासगरी युवतीलक्षित यस्ता प्रतियोगिताहरुको सफलताले उनीहरुको रुचि र क्षमता पनि प्रदर्शन गरिरहेको छ । छिमेकको पोखरा अनि राजधानी काठमाडौंमा यस्ता धेरै प्रतियोगिताहरु हुन्छन् । हेर्दा सौन्दर्यप्रति मात्र जस्तो लक्षित देखिए पनि खासमा यस्ता प्रतियोगिताहरुले सुन्दरता बढाउन मात्र नभएर युवा युवतीको क्षमता विकास, वाक्कला, आत्मविश्वास, प्रतिस्पर्धाको क्षमता आदिको अभिवृद्धिमा मद्दत गर्ने गर्दछ । विश्व साँघुरो बनिरहेको सन्दर्भमा हाम्रो ठाउँका युवा युवती पनि अन्य ठूला सहरका जत्तिकै प्रतिस्पर्धी र क्षमतावान बन्नका लागि यस्ता प्रतियोगिताहरुको सञ्चालनमा नागरिक समाजले रचनात्मक सहयोग गर्नु जरुरी छ । आफ्ना छोराछोरीको प्रतिस्पर्धी क्षमता बढे मात्र उनीहरु जहाँ गए पनि आफुलाई अनुकुल बनाएर क्षमता देखाउन सक्छन् । यस्ता प्रतियोगिताहरु त्यस पाटोमा सकारात्मक भूमिका खेल्न सफल भैरहेका छन् । एकाध विकृति पनि यस्ता प्रतियोगिता आयोजनाका क्रममा नभएका होइनन् । खासगरी प्रतियोगीलाई नै टिकट बिकाउन लगाउने र सोही आधारमा मूल्यांकनमा बढी नम्बर प्रदान गर्नेजस्ता विकृति भने रोक्नु जरुरी छ । नागरिक समाजको सहयोग रहने हो र मानिसहरुले यस्ता प्रतियोगितालाई सकारात्मक आँखाबाट हेर्ने हो भने यस्ता विकृति पनि हटाउन सकिन्छ ।