कानुन व्यवसायीका लागि बन्दीपुरमा तालिम

 दमौली । कानुन व्यवसायीका लागि परिवर्तित देवानी संहिता र अपराध संहितासम्बन्धी अन्र्तक्रिया तनहुँको बन्दीपुरमा शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै तनहुँका मुख्य जिल्ला न्यायाधिश अर्जुन कोइरालाले धेरै देश हेरेर ल्याइएको कानुन पहिलेको भन्दा बढी व्यवहारिक भएको भन्दै प्रचलनमा ल्याउन सबै लाग्नुपर्ने बताए ।
अर्का जिल्ला न्यायाधिश दीपक ढकालले नयाँ कानून व्यवहारमा आउँदा शुरुमा कतिपय समस्या आउन सक्ने भन्दै त्यसको समाधानका लागि बार र बेञ्च मिलेर काम गर्नुपर्ने बताए । तनहुँ बारका अध्यक्ष अमृत नेपालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्याङजा बारका अध्यक्ष प्रकाश अर्याल, लमजुङका बार अध्यक्ष कृष्णप्रसाद अधिकारी, तनहुँ बार उपाध्यक्ष इन्द्रा थापा र सचिव शरणहरि पन्थले बोलेका थिए । ५० जना सहभागी प्रशिक्षण दुई दिन चलेको थियो । सरकारले भाद्रबाट दुवै नयाँ परिवर्तित कानुन  व्यवहारमा ल्याउँदैछ ।