विकृती हटाउन रेडियोले सघाउने

बन्दीपुर । बन्दीपुर घोषणा पत्र जारी गर्दै तनहुँको बन्दीपुरमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब प्रदेश ४ को प्रथम साधारण सभा सम्पन्न भएको छ । शुक्रबार र शनिबारसम्म चलेको साधारण सभाले जारी गरेको नौ बुँदै घोषणा पत्रमा लोककल्याणकारी विज्ञापन समानुपातिक ढंगले वितरण गर्न माग गरिएको छ ।
घोषणापत्रले सरकारको दोहोरो कर प्रणाली हटाउन तीनै तहसँग माग गर्दै स्थानीय सञ्चार नीतिको मस्यौदामा सामुदायिक रेडियोका प्रतिनिधिलाईसमेत राख्नका लागि माग गरेको छ । 
साधारणसभामा सहभागी रेडियोहरुले घोषणापत्रमार्फत स्थानीय सरकारसँग सहकार्य गर्दै विकासका साझेदार र सामाजिक विसंगतिविरुद्ध संयुक्त अभियान थाल्ने उद्घोष गरेका छन् । प्रदेशका रेडियोहरुले स्थानीय कला, भाषा र संस्कृतिको प्रचारका लागि कार्यक्रम निर्माण गर्दै एक अर्कासँग आदानप्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।  साधारण सभाको पूर्व सभामुख रामचन्द्र पौडेलले उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालको संविधानमा लेखिएका सबै कुराहरु अक्षरसः पालना हुनुपर्ने बताएका छन् । पौडेलले बहुमतको आडमा सरकारले संविधानको सही पालना नगरेको भन्दै उनले यसले सरकारलाई स्वेच्छाचारी बनाउने दाबी गरे । आफूहरुले संविधानमा बहुलवाद राख्न खोजे पनि तत्कालीन माओवादीको विरोधले हुन नसकेको भन्दै पौडेलले कम्युनिष्टको विरोधका कारण बहुलवाद नराखिए पनि सरकारलाई स्वेच्छाचारी हुने छुट नभएको बताए ।
नेता पौडेलले २०४६ पछि देशमा सञ्चारको प्रगति भएको भन्दै सञ्चारमाध्यमहरु लोकतन्त्रको पहरेदार बनेको बताए । उनले देशमा सूचना तथा सञ्चारका क्षेत्रमा सामुदायिक रेडियोको भूमिका बढी भएको बताए ।
सामाजिक रुपान्तरणमा सामुदायिक रेडियोले स्थानीयस्तरमा धेरै भूमिका खेलेको दाबी गर्दै पौडेलले सरकारले रेडियो खोल्ने कुराको विरोध गरे । सरकारी लगानीको रेडियो नेपाललाईसमेत स्वायत्त र स्वतन्त्र बनाउनुपर्ने उनले सुझाव दिए । 
‘सञ्चारमा राज्यको नियन्त्रणले स्वच्छ आलोचना हुन सक्दैन’, उनले भने,‘स्वतन्त्र प्रेसलाई प्रवद्र्धन गर्नुपर्छ ।’ यसो हुन सके मात्र लोकतन्त्र सही अर्थमा सबल हुने उनले बताए । रेडियोले सरकारलाई मन नपर्ने तर जनतालाइ आवश्यक कुरा दिनुपर्ने पनि उनले बताए । 
प्रदेश सांसद सरिता गुरुङले पहुँच र प्रभावका हिसाबले सामुदायिक रेडियोले सामाजिक रुपान्तरणमा धेरै भूमिका खेलिरहेको बताइन् ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराबका केन्द्रीय अध्यक्ष सुवास खतिवडाले सामाजिक कूरीति नियन्त्रणमा सामुदायिक रेडियोको भूमिका अतुलनीय भएको बताए । ‘रेडियोको भूमिकालाई सरकारले नजरअन्दाज गरेको छ,’ उनले भने,‘पत्रिकाको तुलनामा बढी प्रभाव भएको रेडियोलाई दिने लोक कल्याणकारी विज्ञापनको रकमले अन्याय महसुस गरेका छौं ।
’कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, अकोराबका सल्लाहकार किशोरजंग थापा, बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पत्रकार महासंघका प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, अकोराबका उपाध्यक्ष ओमकार आचार्यलगायतले सामुदायिक रेडियोको योगदानको राज्यबाट कदर हुनुपर्ने बताए । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, अकोराबका सल्लाहकार किशोरजंग थापा, बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पत्रकार महासंघका प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, अकोराबका उपाध्यक्ष ओमकार आचार्य, कोषाध्यक्ष पवन पौडेललगायतले सामुदायिक रेडियोको योगदानको राज्यबाट कदर हुनुपर्ने बताए । 
साधारणसभाको बन्दसत्रले सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा प्रदेशको पहिलो सामुदायिक रेडियो हिमचुली एफएमका अध्यक्ष लेखबहादुर गुरुङलाई सम्मानित गरिएको 
थियो ।