खेलको विकास अपरिहार्यता

दमौलीमा अहिले खेल मैदानका लागि व्यास नगरपालिकाका तर्फबाट काम भैरहेको
छ । खेलकुदप्रेमीहरुको बाक्लो बसोबास रहेको दमौलीले केही राष्ट्रियस्तरका खेलाडीसमेत उत्पादन गरिसकेको छ । तर खेलमा जति मात्रामा सफलता पाउनुपर्ने हो, दमौलीले पाउन सकिरहेको छैन । दमौलीमा खेलका पूर्वाधार पर्याप्त मात्रामा नहुनुलाई पनि खेलमा सफलता पाउन नसक्नुको कारण ठानिएको छ । दमौली बजारमा भएको खेलमैदान फुटबलका लागि उपयुक्त नहुनु, कभर्डहलको उचित व्यवस्था नहुनु र नियमित रुपमा खेल प्रतियोगिताहरु नहुनुजस्ता कारणले पनि दमौलीले खेलबाट पाउनुपर्ने जति सफलता पाउन नसकेको चर्चा चल्ने गरेकोछ । यसर्थ दमौलीको खेल क्षेत्रको विकासका लागि धेरै काम हुन बाँकी छ । पहिलो काम बजारमै सबैको पहुँच हुने ठाउँमा व्यवस्थित खेल मैदानको व्यवस्था नै हो । जसका लागि नगरपालिकाले काम थालेको छ । तर कस्तो र कुनस्तरको मैदान हुने भन्ने अझै यकिन नभए पनि मैदानको क्षेत्रफल वृहत हुने रबहुद्देश्यीय हुने खबर सार्वजनिक भएका छन् । यसले केही मात्रामा भए पनि आशा दिलाएको छ । तर खेलको विकासका लागि यति कदम मात्र पर्याप्त छैन । व्यास नगरपालिकाले खेल क्षेत्रको गुरुयोजना नै निर्माण गरेर चरणबद्ध विकास गर्नुपर्ने देखिन्छ ।